काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समुद्धि र सुशासनको बाटो चुनौतीपूर्ण भएको बताएका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको शनिबार भएको एक कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले सो धारणा व्यक्त गरेका हुन् ।
‘‘नयाँ अभियान, नयाँ आन्दोलन र नयाँ प्रक्रिया शुरु गरेका छौँ, चुनौतीपूर्ण भए पनि सोही दिशामा सरकार र पार्टी दृढ भएर लागेका छौँ ।’’ प्रधानमन्त्रीले भने, ‘‘तीन दलको बैठक बस्दा नक्कली भुटानी शरणार्थीबारे बस्न नभएर आन्दोलनले ल्याएका उपलब्धीलाई संस्थागत गर्न परिवर्तनलाई आत्मसाथ गर्नको लागि बसेका छौँ ।’’
उनले भने ‘‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने कोशिष भइरहेको धेरथोर महसुस हामी सबैले गरेका छौं । हामी तीन पार्टी त्यसरी बस्नुको तात्पर्य १२ बुँदे सहमति हुँदै गणतन्त्रसम्म एक साथ उभिएका प्रमुख शक्तिहरु परिवर्तनको रक्षाका निम्ति पनि एक ठाउँमा उभिनुपर्छ भनेर हो ।’’
प्रधानमन्त्री प्रचण्डका अनुसार यस प्रकरणमा दोषी कोही पनि नछुटोस् र कोही पनि निर्दाेष व्यक्ति नपरुन् भन्ने सरकारको योजना रहेको छ । उनले गणतन्त्र आएपछि विकास र समृद्धिसहित शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा व्यापक राम्रो भएको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले गणतन्त्रको पालामा सबैभन्दा राम्रो भए पनि राजतन्त्रमा जतिको काम भएन भनेर एकथरी शक्तिहरुले जनतालाई भ्रमित तुल्याउन प्रयत्न गरिरहेकोप्रति चनाखो हुन सबैमा अपिल गरेका छन् ।
शरणार्थी प्रकरणका सन्दर्भमा भने प्रहरी अनुसन्धानलाई सघाउनेमा कसैको विमति नरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ रहेको छ ।