कञ्चनपुर - शुक्लाफाँटा नगरपालिका– ८ धारापानीका साईमले धामीलाई खानेपानीकै चिन्ता छ । जेठको बढ्दो गर्मीसँगै खोलामा पानी सुक्दै गएपछि पानीको जोहो गर्न हम्मेहम्मे नै पर्छ ।
‘गर्मीका बेला खोला सुक्दा पानी खोज्दै जानुपर्छ,’ उनले भने, ‘बर्सातका बेला धमिलो पानी बाध्य भएर पिउनुपर्छ, पानीको अर्को विकल्प नहुँदा ५६ वर्षदेखि खोलाकै पानी प्रयोगमा ल्याउँदै आएका छौं । चुरेफेदीको धारापानी गाउँमा २२ परिवार बस्छन् ।
०२४ सालभन्दा अगाडिदेखि नै धारापानीमा बस्ती बस्न थालेको हो । त्यहाँका बासिन्दानले त्यतिबेलादेखि नै धारापानी खोलाको पानी पिउन बाध्य छन् । नुहाइधुवाई र गाइवस्तुलाई खुवाउन पनि खोलाकै पानी प्रयोग गर्दै आइरहेका छन् ।
‘खोलाको पानी सिधै पिउनु हाम्रो रहर होइन बाध्यता हो’ स्थानीय बालाराम गौतमले भने, ‘तर हिउँदमा त्यही खोलाको पानी पनि सुकेपछि प्रत्येक घरका एक जनाको काम पानी खोज्ने नै हुन्छ । वर्षायाममा धारापानी खोलामा धमिलो पानी आउँछ । त्यही धमिलो पानी पनि थिग्राएर पिउनुपर्ने वाध्यतामा छौं ।’
उनका अनुसार दुषित पानी पिएर वर्षेनी दर्जनौं स्थानीय बिरामी पर्ने गरेका छन् । खानेपानी आयोजना निर्माणका लागि पटकपटक सम्बन्धित निकायमा पुगे पनि कार्य अगाडि बढ्न नसकेको उनको गुनासो छ ।
‘गत वर्ष वडा कार्यायले खानेपानी आयोजना निर्माणका लागि कार्य अगाडि बढाए पनि गाउँसम्म पानी पुग्न सकेन’ उनले भने, ‘थोरै बजेटले खानेपानी आयोजना निर्माणको कार्य अधुरो अपुरो रहेको छ ।’
धारापानी गाउँमा विद्युत् पनि पुग्न सकेको छैन । स–साना बालबालिकालाई पढ्नका लागि बालविकास केन्द्र पनि छैन । गाउँमा विद्यालय नहुँदा पाँच किलोमिटर टाढाको विद्यालयमा बालबालिकालाई पढ्नका लागि पैदल पठाउनुपर्ने वाध्यता रहेको बताए । चुरेको दुर्गममा रहेको बस्तीमा अभावै अभाव रहेको मोहनसिंह धामीले बताए ।
‘घुम्नका लागि टाढाटाढाबाट मानिसहरू आउँछन्, तर यहीँका मानिसहरूलाई शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युतलगायतका आधारभूत सेवासमेत छैन,’ उनले भने ।
वर्षौंदेखि चलनभोग गर्दै आएका धारापानी गाउँका बासिन्दाको जग्गाको स्वामित्व प्रदान गर्नका लागि जग्गा नापजाँच प्रक्रिया अगाडि बढाइएको उनको भनाइ रहेको छ । धारापानी गाउँलाई नगरपालिकासँग जोडनका लागि सडक पूर्वाधारका कार्य अगाडि बढाइएको उनले बताए । - रासस