कञ्चनपुर - कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लापट्टिकी सिठ्ठो रानाको केही महिनायता दैनिकी फेरिएको छ । अचेल दोदा नदीको बगरमा भेटिन्छन् उनी । बगरको बीचमा सानो छाप्रो छ । त्यहीँ छाप्रो उनको बासस्थान बनेको छ । नदीको पाँच कट्ठा बगर क्षेत्रमा उनले तरकारी खेती गरेकी छन् ।
बगरमा लगाएको तरकारी कुर्न बगर छेउमा छाप्रो बनाएर बास बस्नु परेको सिठ्ठोले बताइन् । ‘वर्षांैदेखि बगरमा खेती गर्दै आएका छौँ, यहीँबाट घरखर्च चलाउँछौँ’, उनले भनिन्, ‘माघदेखि जेठसम्म बगरमा खेती गर्छौं, अरू समयमा मजदुरी ।’ श्रीमान् मीनबहादुर दिनभर तरभुजालगायत उत्पादन ट्याक्टरमा लगेर गाउँगाउँमा बिक्री गर्छन् । अट्ठाइस सदस्यीय रानाको संयुक्त परिवारको खर्च बगर खेतीबाटै चलेको छ ।
‘जङ्गली जनावरबाट खेती जोगाउन हम्मेहम्मे हुन्छ, चोरी पनि हुने गरेको छ’, सिठ्ठोले भनिन्, ‘जङ्गली जनावर र चोरीबाट उत्पादन जोगाउन छाप्रोमै बास बस्ने गरेका छौँ ।’ उनका अनुसार दिनमा आफू र राति श्रीमान् खेती हेर्नका लागि छाप्रोमा बस्ने गरेका छन् । बगरमा उत्पादित तरकारीबाट वार्षिक रू ६० हजारभन्दा आम्दानी हुने गरेको सिठ्ठोले जानकारी दिइन् ।
लालझाडी गाउँपालिका–४ डाँडापट्टिकी डुठ्ठो रानाको दैनिकी पनि यस्तै छ । उनका श्रीमान् शारदा रोजगारीको सिलसिलामा भारतको सिम्लामा छन् । छोरीसहित डुठ्ठो बगर खेती गर्छिन् । उनले बगरमा काँक्रा, लौका, तरभुजा, फर्सीलगायत खेती गरेकी छन् ।
जङ्गली जनावर र चोरीबाट खेती जोगाउन रातदिन बगरमै बास बस्नु परेको उनले बताइन् । ‘पाँच कट्ठा क्षेत्रमा खेती गरेकी छुँ, तयार भएको उत्पादन बिक्री गर्न थालेको साताभन्दा बढी भयो’, उनले भनिन्, ‘रातमा जनावर र चोरीबाट खेती जोगाउन जाग्राम बस्नुपर्छ, जनावर धपाउन ढ्याङ्ग्रो बजाउँछौँ ।’
तरकारी किन्न कतिपय ग्राहक बगरमै आउने उनको भनाइ थियो । यस वर्ष तरभुजा, काँक्रा, लौका, फर्सीलगायत तरकारी बिक्री गरेर रू १२ हजार आम्दानी गरिसकेको डुठ्ठोले जानकारी दिइन् ।
बगरमा व्यावसायिक तरकारी खेती गरिरहेका तटीय क्षेत्रका किसान खेती जोगाउन बगरमा बास बस्ने गरेका छन् । विद्युतको सुविधा नहुँदा सोलार बालेर खेती कुर्ने गरिएको लालझाडीको डाँगाजाईंका किसान दानसिंह गिरीले बताए । ‘तरभुजा, काँक्रा चोरी हुने गरेका छन्, स्यालबाट पनि खेती जोगाउन मुस्किल छ’, उनले भने, ‘खेती जोगाउन राति जाग्राम बस्छौँ, दिनमा सुत्छौँ ।’ - रासस