कृष्णपुर नगरपालिका कञ्चनपुरका सार्वजनिक विद्यालय फेरिन थालेका छन । नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालयमा पठनपाठनका गतिविधिहरु सकृय रुपमा अघि बढ्न थालेका हुन । शैक्षिक सत्र २०८० शुरु हुनु अगावै नगरप्रमुख हेमराज ओझाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,विद्यालयका प.अ. लगायत आभिभावकसँग सार्वजनिक विद्यालयको शैक्षिक स्तर सुधारका लागि विभिन्न चरणमा छलफल अगाडी बढाएका थिए ।
त्यसैगरी शैक्षिक सत्र २०७९/०८० को एस.इ.इ. परीक्षा तयारीको लागि नगरका १३ माध्यामिक विद्यालयलाई नगद ५० हजार अनुदान दिएको थियो ,त्यसैगरी कृष्णपुरका अधिकांश विद्यालयमा अंग्रेजी माध्यमबाट पनि पठनपाठन शुरु गरिएको छ ।
माध्यामिक तहमा दरबन्दी मिलान,आवश्यक विद्यालयहरुमा भौतिक संरचना निर्माण,शैक्षिक सामाग्री वितरण,पूर्व प्राथमिक तहका बालबालिकाहरुलाई सार्वजनिक विद्यालयप्रति आकर्षित गराउन १३ माध्यामिक विद्यालयहरुमा बाल उद्यान निर्माण लगायतका काम गरेको नगरप्रमुख ओझाले बताए ।
नगरप्रमुख ओझा भन्छन,' राज्यले अरबौं पैंसा सार्वजनिक विद्यालयमा लगानी गरेको छ,अत्यन्तै कडा प्रतिस्पर्धाबाट छानिएर शिक्षकहरु आउनुहुन्छ तरपनि किन सार्वजनिक विद्यालयको नतिजा सुखद आइरहेको छैन ,किन अभिभावकको मन जित्न सकिरहेको छैन यो प्रश्न चिर्न आवश्यक छ ,अर्को वर्ष कक्षा ८ र १० को उत्कृष्ट नतिजाका लागि पनि विशेष तयारी गर्ने पर्छ । '
'सार्वजनिक विद्यालयप्रति जुन नकारात्मक बुझाइ छ म मेरो कार्यकाल भरी त्यसलाई सकारात्मक बनाउने र अभिभावक ज्युलाई आफ्ना नानीबाबुलाई ढुक्क भएर सार्वजनिक विद्यालयमा भर्ना गर्ने वातावरण सृजना गर्नेछु त्यो प्रयास जारी राखेको छु,' नगरप्रमुख ओझा बताउँछन् ।
२० आधारभुत विद्यालय र १३ माध्यामिक गरि जम्मा ३३ विद्यालय रहेको कृष्णपुरमा हजारौं विद्यार्थी अध्ययनरत छन् ।