खमौरा – कैलालीको गोदावरी नगरपालिका १० खमौरामा वडा स्तरिय मैत्रिपूर्ण क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु भएको छ । गोदावरी नगरपालिकाको वडा नम्बर १० को आयोजनामा शनिबार देखि शुभ दिपावलीको अवसरमा मैत्रिपूर्ण क्रिकेट तथा फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शनिबार एक कार्यक्रमका बिच वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाहीले उद्घाटन गरेका छन । मैत्रिपूर्ण क्रिकेट तथा फुटबल प्रतियोगिको उद्घाटन गर्दै वडा अध्यक्ष शाहीले मैत्रिपूर्ण क्रिकेट तथा फुटबल प्रतियोगिले सबैमा भाईचारको सम्बन्ध स्थापित गर्न भुमिका खेल्ने बताए ।
उनले चाडपर्वका समयमा पहिले जस्तो रमाईलो गर्ने क्रम घट्दै गएकाले खेलकुदको माद्यमबाट भएपनि सबैलाई एक ठाउँमा ल्याउन मैत्रिपूर्ण क्रिकेट तथा फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए । ‘पहिले चाडपर्वका समयमा रमाईलो हुन्थो सबै एक ठाउँमा हुन्थे रमाईलो गर्थे तर अहिले धेरै जसो युवाहरु कुलतमा फस्ने , जुवातास खेल्ने गर्दछन ।’ अध्यक्ष शाहीले भने – ‘ कुलतमा लागेका युवालाई खेलकुदमा व्यस्त गराउँदा स्वास्थ्यका दृष्टिकोणले पनि फाईदा पुग्ने छ ।’ उनले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगीताको आयोजना गरिएको बताए ।
खेलकुद प्रतियोगिताका संयोजक भुवन भट्टको सभापतित्वमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष शाही रहेका थिए । उद्घाटन कार्यक्रममा अस्थाई प्रहरी पोस्ट ओलानीका प्रमुख गल्फे धमेना लगायत जनप्रतिनिधि, सामाजसेवी, बिभिन्न टिमका खेलाडी लगायत स्थानियको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा गोदावरी र कृष्णपुर नगरपालिकाका बिभिन्न क्लवहरुको सहभागीता रहेको छ । मैत्रिपुर्ण क्रिकेट तथा फुटबल प्रतियोगिता संयोजक एवम वडा नम्बर १० का वडा सदस्य भट्टले क्रिकेट प्रतियोगितामा १२ ओटा टिम र फुटबल प्रतियोगीतामा ९ ओटा टिमको सहभागिता रहेको बताए ।
क्रिकेट तथा फुटबल प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार र प्रमाणपत्र पाउने छन भने द्धितिय हुन टिमले नगद १५ हजार सहित प्रमाणपत्र पाउने संयोजक भटट्ले बताए । उनले प्रतियोगीता कार्तिक १० गते सम्म जारी रहने बताए ।
पहिलो खेलमा माउन्ट एभरेष्ट बिजयी, प्रेम बिकले गरे ह्याट्रिक
मैत्रिपुर्ण क्रिकेट तथा फुटबल प्रतियोगिता अन्तरगत शनिबार बिहान भएको पहिलो फुटबल खेलमा माउन्ट एभरेष्ट क्लवले बिजय यात्रा सुरु गरेको छ ।
प्रगती युथ क्लव बी लाई ० का बिरुद्ध ३ गोल प्रहार गर्दै माउन्ट एभरेष्टले जित हात पारेको हो । माउन्ट एभरेष्टका तर्फबाट प्रेम बहादुर बिकले ह्याट्रिक प्रहार गरेका छन । उनले ३ गोल गरेका थिए ।
यस्तै प्रतियोगीता अन्तरगत शनिबार साँझ भएको सिवाईसी अत्तरिया र ऐश्वर्या साहारा बी बिच क्रिकेट प्रतियोगीतामा सिवाईसी अत्तरिया बिजयी भएको छ । १२ ओभरमा खेलाईएको खेलमा सिवाईसीले १०५ रन बनाएको थियो भने जवाफमा ऐश्वर्या साहारा बीले १२ ओभरमा ६ बिकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो ।