काठमान्डौ -नक्कली भुटानी शरणार्थी प्रकरणले संसदमा प्रवेश गरेको छ । पूर्वमन्त्री, बहालवाला सचिव, पूर्वसचिवलगायत गृह प्रशासन नै तानिएको यो प्रकरणबारे आइतबार संसद अधिवेशनको पहिलो बैठकमै सांसदहरूले कुरा उठाएका हुन् ।
बैठको सुरुमै नेमकिपाका संसद प्रेम सुवालले भ्रष्टाचारका सबै विषय छानबिन हुनुपर्ने बताए । संसदको आकस्मिक समयमा बोल्दै उनले भने, 'तत्कालीन गृहमन्त्री रामबहादुर थापाको निर्णयानुसार शरणार्थी कार्यदल गठन गरियो । १ अर्ब ठगी गरेका को-को हुन् ? भ्रष्टाचारको सबै छानबिन हुनुपर्छ ।’स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचार प्रकरणमा छानबिन आयोग गठन गर्नुपर्ने बताए । २०६३ यताका दिनहरू भ्रष्टाचारको नमुना बनेको उल्लेख गर्दै उनले आयोग गठन गर्न माग गरे ।
उता एमाले सांसदहरूले भने शरणार्थीका नाममा भएको भ्रष्टाचारको मुद्दामा आफूहरू फिल्म हेर्न टिकट काटेर बसेको बताएका छन् । भुटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अहिले ट्रेलर मात्र देखाइएको र सिंगै फिल्म आउन बाँकी रहेको बताएका थिए ।
आइतबार एमाले सांसदहरूले संसदमा यही प्रसंग कोट्याउँदै प्रधानमन्त्रीमाथि व्यंग्य गरेका हुन् । एमाले प्रमुख सचेतक पदम गिरीले संसदमा भने, ‘प्रधानमन्त्रीले कास्टिङ हो । फिल्म देखाउन बाँकी छ भन्नुभएको छ । हामी टिकट काटेर बसेका छौँ । फिल्म देखाउनु होला ।’ उनले बाँसबारी चप्पल कारखाना, वाइडबडी, लडाकुकाण्ड, सीसीटीभी फुटेजको यो अधिवेशनमा छलफल गर्नुपर्ने बताए ।
एमाले सांसद सूर्य थापाले भने संसदमा कमानसिंह लामा ठगी प्रकरणको फिल्म हेर्न चाहेको बताए । संसदको आकस्मिक समयमा उनले भने, 'कमानसिंह लामा ठगी प्रकरणको फिल्म हेर्न चाहन्छु ।’ स्वर्गीय कमानसिंह लामालाई वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ठगेको चर्चा भएको थियो । सोही विषयलाई एमाले सांसद थापाले संसदमा उठाएका हुन् । उनले शरणार्थी प्रकरणमा निर्दोषलाई नफसाउन र दोषीलाई कारबाही गर्न माग गरे ।