कञ्चनपुर - कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा कञ्चनपुरमा यस वर्ष चैते धान खेतीको क्षेत्र बढेको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीको भनाइ बताए ।
प्रधानमन्त्री कृषि आयोजना कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालका अनुसार कृषकले चैते धान खेतीका लागि बीउ लैजाने क्रम बढेको छ । यस वर्ष कार्यालयबाट करिब २४ हेक्टर क्षेत्रफल जमिनलाई पुग्ने धानको बीउ वितरण गरिएको रिमालले बताइन् ।
कञ्चनपुरको बेलाडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा सबैभन्दा बढी चैते धानको खेती हुने गरेको छ । किसानले चैते धान खेतीपछि बर्खे धान खेती गरेर दोहोरो फाइदा लिइरहेका छन् ।
अनुदानमा मल, बीउबिजन, कृषि औजार र उपकरण पाउन थालेपछि किसान बर्खे खेतीसँगै चैते खेतीप्रति पनि आकर्षित हुन थालेका हुन ।
कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।