बैतडी - गर्मीयाम सुरु भएसँगै बैतडीमा पनि वन डढेलोको जोखिम बढ्दै गएको छ । यहाँ रहेका ७९ वन डढेलोको जोखिममा समेत छन् ।
डिभिजन वन कार्यालयकाअनुसार सबैभन्दा बढी ३० पाटन सव डिभिजन वन कार्यालय अन्तर्गत वन रहेका छन् । यस्तै मालिका पाटन सव डिभिजन वन कार्यालय र हाटपाटन सव डिभिजन वन कार्यालय अन्तगतका १३÷१३ वटा वन डढेलोको जोखिममा रहेका डिभिजन वन कार्यालय प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिए । यसका साथै मेलौली–कुलाउ सब डिभिजन वन कार्यालय अन्तर्गतका ११, सिगास सव डिभिजन वन कार्यालय अन्तर्गतका ८,रुद्रेश्वर–देउलेक सब डिभिजन वन कार्यालय अन्तर्गतका ४ वन जोखिममा रहेका हुन् ।
यसअघि डढेलो लागेका र बस्तीनजिक रहेका वन जोखिममा राखिएका हुन् । जिल्लामा हालसम्म डढेलो लागेको घटना नरहेका प्रमुख कँडेलले बताए । उनले भने,“ डढेलोको जोखिममा वन रहेका भए पनि यो वर्ष भने फाट्टफुट्टबाहेक डढेलो लागेको खबर खासै खबर आएको छैन् ।”गर्मीयाम सुरु भएसँगै मानवीय लापरबाहीका कारण डढेलोको जोखिम बढी हुने गरेको छ । प्राकृतिक र मानवीय दुवै कारणले वन डढेलो हुने गरेकोमा प्राकृतिक ५ प्रतिशत र मानवीय ९५ प्रतिशतले डढेलो हुने गरेको छ । बैतडीमा सबै प्रकारका वन डढेलो लाग्ने गरेका छन ।
घर्षने, भूइँ, सतही र छत्र डढेलोमध्य खतरनाक चाही छत्र डढेलो र यहाँ बढी मात्रामा सतही डढेलो लाग्ने गर्दछ । डढेलोबारे वन कार्यालयले सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । डढेलोले जनस्वास्थ्य क्षेत्रमा सङ्कट ल्याउनुका साथै मानवीय र धनजनको क्षति पनि गर्ने भएकोले सबैले सचेत रहन आग्रह गरिएको छ । बैतडीमा विशेषगरी फागुनदेखि जेठसम्म डढेलो लाग्ने गरेको जनाएको छ ।
यहाँ तीन सय ६४ सामुदायिक वन, एक सय ७४ कबुलियती, प्रस्तावित संरक्षित क्षेत्र २, निजी वन ३, वैज्ञानिक वन व्यवस्थापन ३ क्षेत्र रहेका छन् । कूल क्षेत्रफल एक लाख ४८ हजार छ सय ७८ हेक्टर क्षेत्रफल रहेको बैतडीमा ८५ हजार सात सय ६८ हेक्टर वन क्षेत्र रहेको छ । रासस