धनगढी – नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिमण्डल फेरबदल नहुने बताएका छन् । धनगढीमा विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले तत्कालका लागि मिडियामा चर्चा भएअनुसार मन्त्रिमण्डल पुनर्गठनको सम्भावना नरहेको बताएका हुन् ।
उनले भने ‘यति जना मन्त्री फेरिने भए रे, यी यी आउन थाले रे भनेर व्यापक हल्ला फैलिएको छ त्यसमा कुनै सत्यता छैन, हामीले त्यस्तो कुनै चर्चा गरेका छैनौँ ।’ सरकार फेरबदलको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीमा भर पर्ने भएकोले यो प्रश्न आफूलाई नगर्न पनि पत्रकारलाई आग्रह गरे ।
‘सरकार फेरबदलको कुरा के हो?’, प्रचण्डले भने ‘यो प्रश्न मलाई नसोध्दिए हुन्थ्यो भन्ने लाग्छ, यसमा ओलीजीले जे चाहनुहुन्छ त्यही हुन्छ ।’ ‘तपाईँ पनि त पार्टीको अध्यक्ष हो नि’ पत्रकारको थप जिज्ञासामा प्रचण्डले भने, ‘हो म पनि अध्यक्ष हुँ, मन्त्री फेर्दा पक्कै मलाई सोधिन्छ होला तर अहिलेसम्म हामीबीच त्यस्तो कुनै छलफल र चर्चा भएको छैन ।’
प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन भए सुदूरपश्चिमलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाए । उनले अबको विकास सुदूरपश्चिममा बढी केन्द्रित भएर हुनुपर्ने बताए । ‘सुदूरपश्चिम विगतदेखि पछाडि पारिएको हो भन्ने अवस्था थियो नै विगतमा ।’ उनले भने,– ‘अब सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएर निर्वाचन पछि विकास तिर र समृद्धि तिर मुलुक गइसकेको अवस्थामा सुदूरपश्चिममा अलि बढी केन्द्रित हुनुपर्छ की भन्ने हाम्रो धारणा छ ।’
अध्यक्ष दाहाललले आजै धनगढीको ॐ प्यालेसमा हुने नेकपाबाट निर्बाचत स्थानीय तहका जनप्रतिनिधिलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।