दार्चुला - नेपाली सेनाको टोली व्यास गाउँपालिका–१ मा पर्ने चीनसँगको सिमाना टिङ्कर भन्ज्याङको निरीक्षण गरी फर्किएको छ। गत चैत २१ गते गुरु गोरख गुल्म खलङ्गा ब्यारेकबाट हिँडेको सेनाको टोली ११ दिनपछि टिङ्करमा रहेको पिलर नम्बर–१ को स्थलगत अनुगमन तथा निरीक्षण गरी फर्किएको हो।
नेपालको बाटो हुँदै पिल्लर नम्बर–१ मा पुगेको सेनाले सीमास्तम्भको अवस्थाका बारेमा जानकारी लिएको हो। सो टोलीलाई सुदूरपश्चिम पृतनापति उपरथी विजय थापा र सहायकरथी पुरुषोत्तम ढकालले छाङरु पुगेर भेटेका छन् ।
नेपाल–चीन पिल्लर नम्बर–१ हिउँले ढाकेको अवस्थामा फेला प¥यो, हिउँ सफा गरेर सीमास्तम्भबारे जानकारी लिएर टोली तल झ¥यो, सहायकरथी ढकालले भने, “हाम्रो टोली व्यास गाउँपालिकामा पुगेको छ।”
सेनाको टोली १० गते दार्चुला सदरमुकाम खलङ्गा आइपुग्ने बताइएको छ। गत मङ्सिरयता मानवीय उपस्थिति शून्य रहेको टिङ्करमा सेनाको टोली पुगेको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ। सेनाले व्यास गाउँपालिका–१ मा पर्ने छाङरु र टिङ्कर गाउँबस्ती तथा बाटोघाटोको अवस्थाका बारेमा जानकारी लिएको छ।
वर्षमा एक पटक चीनसँगको सीमानाकाको अवस्थाबारे सेनाले जानकारी लिँदै आएको छ। गर्मीयामको छ महिना टिङ्कर र छाङरुमा बसोबास गर्ने सौका समुदायका मानिस हिउँदेयाम सुरु भएसँगै गत मङ्सिरमा खलङ्गा झरेका थिए। गर्मी बढेसँगै गाउँ फर्किने तयारीमा रहेका छन्।
टिङ्करको छ्यालेकमा बस्दै आएको नेपाल प्रहरीको टिङ्कर सीमा प्रहरी चौकी पनि हिउँ परेपछि छाङरु झरेको थियो। मानव बस्ती र सुरक्षाको अवस्था शून्य रहेको समयमा सेनाको टोलीले त्यहाँको निरीक्षण गरी सीमा सुरक्षाको अवस्था र वस्तुस्थितिबारे स्थलगत अनुगमन गरेको हो।
सीमा सुरक्षाका सम्बन्धमा अन्तरक्रिया
सुदूरपश्चिम पृतनापति थापा नेतृत्वको सैनिक टोलीले छाङरु र टिङ्करका जनप्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गरेको छ। त्यहाँको बाटोघाटोको अवस्था र विविध पक्षका बारेमा छलफल भएको हो।
स्थानीयले नेपालकै बाटो भएर छाङरु र टिङ्करसम्म जान सक्ने गरी पैदल बाटो निर्माण गरिदिन सेनालाई आग्रह गरेको छलफलमा सहभागी वडाध्यक्ष अशोकसिंह बोहराले जानकारी दिए।
व्यासवासीले बसाइँ सर्दा भारतको बाटो भएर सर्नुपर्ने तथा सधैँ भारतको अनुमति आवश्यक पर्ने भएकाले नेपालकै बाटो भएर जाने इच्छा व्यक्त गरेको स्थानीय गेल्बुसिंह बोहराले बताए ।
लालाबाला र बस्तुभाउसहित बसाइँ सर्दा भारतले विभिन्न बहाना बनाएर अनुमति नदिने तथा आउँदा जाँदा दुःख दिने गरेको स्थानीयको गुनासो छ। सेनाले निर्माण गरिरहेको दार्चुला–टिङ्कर सडकको गति सुस्त रहेको छ भने गाउँसम्म जान घोरेटो बाटो समेत नभएको छाङरु र टिङ्करवासीको गुनासो छ। छाङरुमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली बाह्रै महिना बस्ने गरेको छ।