काठमाण्डौँ - केही दिन यता नेपालमा दैनिक एक सयको हाराहारीमा कोरोना संक्रमितहरु बढिरहेका छन् । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरसका कारण निधन भएको छ ।
तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा। शेरबहादुर पुनले बताए ।
उनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताए । उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधा भन्दा धेरै नयाँ प्रजातिको रहेको बताए ।
डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको उल्लेख गरे । उनले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताए ।
कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।
‘‘पछिल्लो समय कोरोना संक्रमित बढिरहेको देखिन्छ । केही हप्ताको तुलनामा र औषतमा झन्डै एक सयको हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ । कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ ।
डा.पुनले कोरोनाको बुस्टर मात्रा नलगाएकाहरुले बेलैमा बुस्टर लगाउन पनि आग्रह गरे । उनले कोरोना संक्रमणलाई थप बिस्तार हुन नदिनका लागि मास्कको अनिवार्य प्रयोग र हातको सरसफाई राम्रोसँग गर्न पनि सुझाव दिए।