दार्चुला - दार्चुलाको नौगाड गाउँपालिका–६, धुलिगडामा आठ वर्ष लगाएर मोटरेबल पुल निर्माण भएको छ। सो पुलमा भार परीक्षण (लोड टेस्ट)गरेर ट्रक र बसलगायतका सवारीसाधन आवतजावत गर्न अनुमति प्राप्त भएको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताए ।
धुलिगडा पुल सञ्चालनमा आएसँगै नौगाड गाउँपालिकाको खेडासम्म नियमित रूपमा बस सेवा सञ्चालन हुनुका साथै सामान ढुवानीमा सजिलो भएको छ। यहाँको कपडे भीर, सौकेबगड भीर, गोगनेनजिक पहिरो गएको स्थानमा पक्की वाल लगाउने काम भइरहेकाले आउँदो असारसम्ममा होपरीगाड–गोगनेसम्म बस सेवा र ट्रक सञ्चालनमा आउने उनले बताए ।
ठेकेदारको लापरबाहीका कारण विगतमा पटकपटक म्याद थप गर्दासमेत पुलको निर्माण कार्य सुस्त गतिमा भइरहेको थियो। पुल समयमा नै निर्माण गर्न दबाब बढेपछि पुल निर्माणको काम तीव्र गतिमा अगाडि बढाइएको हो। भौतिक, पूर्वाधार विकास कार्यालय बैतडीका कार्यालय प्रमुख जङ्गबहादुर थापाले चैत मसान्तसम्म सो मोटरेबल पुलको ‘लोड टेस्ट’को काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । को थियो।
साढे तीन करोड रुपियाँ लागत रहेको ४५ मिटर लम्बाइको धुलिगाड खोला पुल ठेकेदारले लामो समयदेखि अलपत्र अवस्थामा छोडेका कारण निर्माण कार्यमा ढिलाइ भएको बताइएको छ। ठेकेदारसित धुलिगडामा पुल निर्माणका लागि २०७३ साल असार २२ गते सम्झौता भएको थियो। देथला–खार–खलङ्गा सडकमा पर्ने सो पुल नबन्दा वर्षात्को समयमा यातायात सञ्चालन र स्थानीयलाई हिँडडुलमा समस्या हुँदै आएको थियो।
विगतमा पुल निर्माण कार्य पूरा नहुँदा वर्षात्मा गोकुलेश्वरबाट हिँडेका सवारीसाधन धुलिगडाबाट फर्काउनुपर्ने अवस्था रहेकोमा अब नौगाडसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न सकिने स्थानीय गोविन्दसिंह ठगुन्नाले बताए। तत्कालीन जिल्ला विकास समितिबाट निर्माण सुरु भएको सो पुललाई अहिले सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय, बैतडीले निर्माण गरेको हो।