बैतडी - बैतडीका १० वटा स्थानीय तहको बेरुजु रकम ६४ करोड बढी पुगेको छ । महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा जिल्लाका सबै स्थानीयतहहरूको बेरुजु ६४ करोड १३ लाख ५९ हजार पुगेको हो ।
प्रतिवेदन अनुसार २०७८÷०७९ मा सबै भन्दा बढी डिलाशैनी गाउँपालिकाको बेरुजु देखिएको छ । डिलाशैनीमा ९ करोड २९ लाख ४० हजार रकम बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष समेत डिलाशैनीमा सबैभन्दा बढी बेरुजु देखिएको थियो ।
बैतडीमा सबैभन्दा कम पुर्चौडी नगरपालिकाकाको बेरुजु रहेको छ । पुर्चौडीमा ४ करोड ९९ लाख ३० हजार बेरुजु रहेको छ ।
यस्तै दोगडाकेदार गाउँपालिकाकाको ८ करोड ९८ लाख ८९ हजार, मेलौली नगरपालिकाको ६ करोड ७१ लाख ४ हजार, पाटन नगरपालिकाको ६ करोड १७ लाख ६५ हजार, सुर्नया गाउँपालिकाको ५ करोड ९७ लाख ५९ हजार बेरुजु देखिएको छ ।
यसैगरी दशरचन्द नगरपालिकाको ५ करोड ८८ लाख ५२ हजार, पञ्चेश्वर गाउँपालिकाको ५ करोड ७८ लाख २५ हजार,सिगास गाउँपालिकाको ५ करोड ६१ लाख ५७ हजार र शिवनाथ गाउँपालिकाको ४ करोड ७१ लाख २ हजार बेरुजु रहेको महालेखा परीक्षकको ६० औँ प्रतिवेदनमा उल्लेख छ ।
सार्वजनिक वित्तीय प्रशासनको प्रत्येक वर्ष बेरुजु बढ्दै जानु आर्थिक पालनाको स्थिति कमजोर रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
वित्तीय स्रोत व्यवस्थापन, बजेट तर्जुमा, कार्यान्वयन लेखाङ्कन र प्रतिवेदन प्रणालीमा सुधार गर्नु आवश्यक ६० औँ वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यता केही स्थानीयतहले भने महालेखाको प्रतिवेदनमै समस्या देखिएको दाबी गरेका छन् । उनीहरुले लेखा परीक्षण गरिएको भन्दा फरक रकम देखिन गएको बताएका छन् ।
केही स्थानीयतहले भने क्रमागत योजनाहरूको रकममा पेस्की बेरुजु देखिएकाले ठुलो समस्या नभएको बताएका छन् । यस प्रकारको बेरुजु देखिनुलाई आर्थिक अनियमितता भन्न नमिल्ने स्थानीयतहका पदाधिकारीको भनाई छ ।