काठमाडौँ - घरेलु टोली नेपालले एकदिवसीय अभ्यास खेल ओमानसँग आज खेल्दैछ । खेल बिहान साढे ९ बजेदेखि कीर्तिपुर मैदानमा सुरु हुँदैछ ।
एसीसी प्रिमियर कप अघि नेपालले ओमानसँग अभ्यास खेल खेल्न लागेको हो । यो अभ्यास खेल भएकाले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । नेपालको कप्तानी रोहित पौडेल र ओमानको जिशान मकसुदले गर्दैछन् ।
अभ्यास खेलपछि नेपालले आफ्नो अन्तिम १४ सदस्य टोली घोषणा गर्नेछ ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ मा ओमान दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै विश्व कप छनोटमा पुगेका थिए । एसीसी प्रिमियर कप मङ्गलबार वैशाख ५ देखि १८ गतेसम्म कीर्तिपुर र मूलपानी मैदानमा हुँदैछ । समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरब रहेका छन् ।
समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । नेपालले तीन खेल कीर्तिपुर मैदानमा र एउटा खेल मूलपानीमा खेल्नेछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्दै सुरुवात गर्नेछ । नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग खेल्नेछ ।
नेपालले साउदी अरबसँग वैशाख ११ गते मूलपानीमा खेल्नेछ । त्यस्तै, वैशाख १४ गते कतारसँग नेपालको खेल हुनेछ । सेमिफाइनल वैशाख १६ गते र फाइनल वैशाख १८ गते हुनेछ । एसीसी प्रिमियर प्रतियोगिताको विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।
शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।