धनगढी -सेती अस्पतालमा उपचार गर्न गएका एक बिरामीको पेटमा भोड्का रक्सीको बोत्तल भेटिएको छ । बिहीबार दिउँसो अस्पतालको मेडिकल वार्डमा धनगढी-१४ का ६१ वर्षीय जवानसिंह रोक्का मगरको पेटमा एक्सरे गर्दा उक्त बोत्तल भेटिएको हो । उनी मेडिकल वार्डमा बेस्सरी पेट दुख्यो भनेर आएका थिए।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी मेघराज उपाध्यायका अनुसार उनलाई मेडिकल वार्डबाट तुरून्तै छातीको एक्सरेको गर्न पठाइयो। एक्सरेको रिपोर्ट हेर्दा उनको पेटभित्र रक्सीको बोतल देखीयो।
‘बिरामी आज नै पेट दुख्यो भनेर चेकअप गर्न आउनुभएको हो, एक्सरेपछि मात्रै बिरामी आफैंले पेटमा बोतल छ भन्ने कुरा थाहा पाउनुभयो,’ उनले भने।
मगरका अनुसार उनको पेटमा बोतल गएको दुई दिन जति भयो। मेडिकलमा सामान्य उपचारपछि पेट असाध्यै दुख्न थालेपछि उनी अस्पताल पुगेका थिए।
मगरले अस्पताललाई साथीसँगै मदिरा सेवन गरेको र साथीहरूले नै पेटभित्र बोतल छिराइदिएको बताएका छन्।जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदीप चन्दका अनुसार अस्पतालले आफन्तहरूको सहमतिमा उनको पेटभित्रको बोतल निकाल्न अप्रेशनको तयारी भइरहेको बताए।
उनका अनुसार घटनाबारे सोधपुछ गर्दा बिरामीले आफ्नै कमजोरीले यस्तो घटना हुन पुगेको बयान दिएका छन्।
‘बिरामीले कसैले यातना दिएर नभई मेरो आफ्नै गल्ती कमजोरीले यस्तो घटना हुनपुगेको कुरा गर्नुभएको छ, आफन्तहरू पुगेर उहाँको अप्रेशन तयारी भइरहेको,’ डिएसपी चन्दले भने।