कञ्चनपुर - कञ्चनपुरको भीमदत्त नगरपालिकाको तत्कालीन प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट र लेखा अधिकृत गोविन्दराज उपाध्यायसहित ९ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महाकाली नदीको बालुवा, गिट्टी, ढुंगा र ग्राभेलको ठेक्कामा ठेकेदारसँग मिलेर आरोपीहरुले ५ करोडभन्दा बढी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।
अख्तियारले महाकाली नदीबाट नदीजन्य पदार्थ उत्खननका लागि नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ को ठेक्कामा नगरपालिकालाई ५ करोड ४३ लाख हानी नोक्सानी भएको ठहर गरेको छ ।
भवानी कन्स्ट्रक्सनलाई १ करोड ९५ लाख लाभ पुग्ने गरि नगरपालिकाको राजश्व चुहावट भएको भन्दै प्रमुख प्रशासकीय अधिकृत भट्ट र लेखा अधिकृत गोविन्द राज उपाध्यायलाई सोही बाराबरको बिगो दाबी गरेको छ । यसैगरी भवानी कन्स्ट्रक्सनबाट बैंक जमानत नलिई सम्झौता गरेको भन्दै नगरपालिकालाई ३ कारोड ४७ लाख हानी नोक्सानी गरेको भन्दै सोही बराबरको विगो दाबी गरिएको छ ।
आयोगले भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत छैटौं सुवास अधिकारी, नासु विष्णु देव भट्ट र लेखापाल दिपेन्द्र चौधरीविरुद्ध १ करोड ९५ लाख बिगो मागदाबी लिएको छ ।
ठेकेदार कम्पनी भवानी कन्स्ट्रक्सनका सञ्चालक ईश्वरीप्रसाद भट्ट, केशवराज भट्ट, कन्स्ट्रक्सनका आधिकारिक प्रतिनिधी दिवाकर भट्ट र ईश्वरी भट्टको पत्नी खगेश्वरी भट्टलाई पनि आयोगले विपक्षी बनाएको छ । सञ्चालक इश्वरीको मृत्यु भइसकेकाले ५ करोड ४३ लाख विगो उनकी श्रीमति खगेश्वरी भट्टबाट असुल गर्न माग गरिएको छ ।