अत्तरिया -कैलालीको मालाखेती अस्पतालमा ३ दिन देखी नवजात शिशुसहित सुत्केरी महिलाको शव रहेको छ । मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै शव बुझेका छैनन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको माग गर्दै आएका छन् ।
मृतकका आफन्त आफुहरुको माग अस्पताल प्रशासन र स्थानिय सरकारले वेवास्ता गरेको भन्दै आक्रोसित बनेका छन । बुधबार उनिहरुले नगरपालिका घेराउ समेत गरेका छन। स्थानिय यज्ञराज भाटले नगरप्रमुख बिरेन्द्र भट्टले समस्या समाधानमा खासै चासो नदेखाएको आरोप लगाए । अहिले सम्म आफुहरुको माग सम्बोधन नगरेकाले नगरपालिकामा धर्ना दिन आएको उनको भनाई छ।
भाटले अहिले सम्म सम्बन्धित निकायबाट कुनै पनि पहल नभएको बताउदै उल्टै मृतकका श्रीमानलाई अपहरण शैलीमा लगेर जबरजस्ती सहमतीमा आउन दवाव दिईएको बताए । ‘मृतकका श्रीमान नेपाल प्रहरीको जागीरे हुन, उनलाई अपहरण शैलीमा लगेर भित्र राखिन्छ’ उनले भने ‘जबरजस्ती सहमतीमा सहिछाप गर, तेरो लास बुझ भन्ने किसीमले दवाव दिईदैछ ।’
मृतकका श्रीमानलाई दायाबाया बोलेमा जागीरबाट हटाईने समेत धम्की दिएको उनले बताए । उनले मृतकका श्रीमानलाई बाहिर हिड्न समेत नदिएको बताएका छन् ।
श्रीमान मात्रै पिडित नभएर घरपरिवार र माईती पक्ष पनि पिडित रहेको बताउदै उनले मालाखेतीमा अस्पतालको लापरबाहीका कारण कसैले पनि आगामी दिनमा ज्यान गुमाउने छैनन भन्ने स्थानिय सरकारले प्रतिबद्धता समेत दिनुपर्ने बताए ।
सोमवार बिहान गोदावरी नगरपालिका वडा नम्ब २ अत्तरिया बस्ने २८ वर्षीय लक्ष्मी भट्टराई र उनको नवजात शिशुको अस्पतालमा मृत्यु भएको थियो ।
यता नगरपालिकाले भने घटना दु:खद भएपनी समाधानको लागी छानबिन समिती बनाइसकेको बताएको छ । यदपी औपचारिक अनौपचारिक छलफल भने दुबै पक्षले जारी राखेका छन ।