बैतडी - बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्।
बैतडीको पाटन नगरपालिका ८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब ५०० मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुगेका छन्।
झुलाघाटबाट बझाङको बागथलातर्फ गइरहेको से १ ज ७६४ नम्बरको भण्डारी ट्राभल्स लेखेको जिप मंगलबार राति ११:०० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा बझाङको केदारस्यु गाउँपालिका ५, का ६० वर्षीय मने बोहरा , ३५ वर्षीय गोरख बोहरा , ४० वर्षीय नरे बोहरा , ४५ वर्षीय विर्ख धामी , ४५ वर्षीय मानबहादुर धामी र ४५ वर्षीय वीरे धामी मृत्यु भएको छ। मृतक सबै बझाङको एकै गाउँका हुन्।
जिपको पछाडी सवार ५ जना हाम फालेर बाँच्न सफल भएको प्रहरीको भनाई छ । जिपमा चालक अर्जुन बोहरा सहित १२ जना रहेको बताइएको छ । चालक भने सम्पर्कमा छैनन् ।
झौलेक मोड काटेर खोलाको ठाडो घुम्तीको उकालोमा जिप अगाडि बढ्न नसकेर पछाडि धकेलिएको बताईएको छ। जिप पछाडि बसेका पाँच जनाले सडकमै हाम फालेर बाच्न सफल भएको बताएका छन्। प्रहरी घटनास्थलमा पुगेको छ । थप विवरण आउन बाँकी छ ।