अत्तरिया - गोदावरी नगरपालिका वडा नम्बर १ स्थित गुराँस एकेडेमीको ११ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । विद्यालयका कार्यकारी निर्देशक डम्मरसिंह कडायतको अध्यक्षतामा भएको कार्यक्रमको प्रदेश प्रमुख देवराज जोशीले समुदघाटन गरे।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वड, सेती प्रादेशिक अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंह, एश्वर्य विद्या निकेतनका प्राध्यापक धर्मराज भट्ट, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त राखेका थिए।
अभिभावक दिवसको अवसरमा एकेडेमीले पूर्व मेडिकल सुपरिटेण्डेण्ट डाक्टर गणेशबहादुर सिंह, एश्वर्य विद्या निकेतनका प्राध्यापक धर्मराज भट्ट, सामाजिक अभियान्ता नरेश शाहीसहित विद्यालयका शिक्षक, शिक्षिका तथा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीहरुलाई खादा तथा सम्मानपत्र सहित सम्मान गरेको थियो ।
वार्षिकोत्सवकै अवसरमा विद्यालयले आफनो नयाँ भवनको समुदघाटन गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयका विद्यार्थीहरुले आ–आफनो प्रतिभा, नृत्य तथा कलाहरु प्रस्तुत गरेका थिए । २०६८ साल देखि द नेशनल एकेडेमीको नामबाट सञ्चालित यो बिद्यालय २०७२ साल देखि गुराँस एकेडेमीको नामबाट संचालनमा आएको हो ।
१ सय ७२ जना बिद्यार्थीबाट शुरु भएको गुराँस एकेडेमीसंग करिब १ हजार ५ सय बिद्यार्थी अध्ययनरत छन् । एकेडेमीका सञ्चालक डम्बर कडायतले बिद्यालयको आफ्नै मौलिकता पहिचान सामाजिक उत्तरदायित्व, सुसंस्कृत ब्यबहार र समय सुहाउँदो बैज्ञानिक शिक्षाको कारण यो बिद्यालय आज यस क्षेत्रका अभिभावकहरुको पहिलो रोजाईमा परेको बताए।
५ करोड भन्दा बढी लगानी गरिसकेको विद्यालयले सुविधामा आफ्नै अत्याधुनिक भौतिक पूर्वाधार, प्रशस्त खेल मैदान र पठन पाठनमा आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु रहेका छन् ।