टीकापुर - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताबीचको असन्तुष्टिलाई सम्बोधन गरेपछि मात्रै सद्भाव सम्भव हुने बताएका छन् । टीकापुरमा भइरहेको साहित्य महोत्सवमा ‘राजनीतिले सामाजिक सद्भाव जोड्छ कि तोड्छ’ विषयमा बहस गर्दै डा। भट्टराईले नेपालमा भएका हरेक आन्दोलनमा मानिस मारिने गरेको बताए ।
वि.सं. २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पनि मानिस मारिएकाले अब घाउ नकोट्याई सरकारले व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए। “नेपालमा उत्पादन नहुँदा अभाव छ, सबैलाई पुग्दैन। कोही खान्छ, कोही भोकै मर्छ। अब एकअर्काले दोषारोपण नगरी सामूहिक जिम्मेवारी लिनुपर्छ,” नेता भट्टराईले भने ।
सो बहसमा सहभागी पूर्वउपप्रधानमन्त्री डा। भीम रावलले टीकापुर घटना विगतका द्वन्द्वको बिउको उपज भएको भन्दै मुद्दा अदालतमा रहेको र यो सरकारको विषय भएकाले आफू धेरै नबोल्ने बताए ।
रावलले भने, “देश चलाउने र पार्टी चलाउनेहरू देशभन्दा माथि हुन खोज्दा देशमा यस्ता घटना हुने गरेका छन्। म पदमा रहँदा गल्ती गरेको भए पदअनुसारको सजाय भोग्न तयार छु।”
वि।सं। २०७२ सालमा थारू आन्दोलनका क्रममा टीकापुरमा भएको हिंसाको दोषीका रूपमा रेशमलाल चौधरी जेलमा छन्। चौधरी २०७४ सालको निर्वाचनमा कैलाली–१ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
वि।सं। २०७९ को निर्वाचनमा उनी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीबाट पार्टी अध्यक्ष तथा रेशमपत्नी रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। साहित्यमार्फत सामाजिक सद्भाव भन्ने उद्देश्यका साथ भइरहेको महोत्सवका सन्दर्भ मिल्ने बहसमा टीकापुर घटनाका विषयमा चर्चा हुनुपर्ने सहभागीहरू बताउँछन्।
चैत २५ देखि सुरु भएको तीनदिवसीय साहित्य महोत्सवको दोस्रो दिन आइतबार ‘त्यो टीकापुर, यो टीकापुर र भोलिको टीकापुर’का विषयमा इन्जिनियर थम्बराज श्रेष्ठ, शिक्षकहरू धनञ्जय तिमिल्सिना, बलबहादुर रावल, साहित्यकार सनत रेग्मी, श्याम शाह, बीना थिङ तामाङले चर्चा–परिचर्चा गरेका थिए ।