बैतडी - बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ती दुवै स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । ग्रामीण सडकमा सञ्चालन गर्न समस्या भएको भन्दै ती एम्बुलेन्स फिर्ता गरिएको स्थानीय तहले जनाएको छन् । पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बीना भट्टले एम्बुलेन्स बेलाबेलामा बिग्रने गरेका र मर्मतमा धेरै खर्च हुन थालेपछि फिर्ता गरिएको जानकारी दिइन् ।
“कार्यपालिकाको बैठकबाट निर्णय गरी एम्बुलेन्स मन्त्रालयलाई फिर्ता पठाएका हौँ”, उनले भनिन् । ग्रामीण सडकमा सहजरुपमा सञ्चालन गर्न मिल्ने एम्बुलेन्स गाउँपालिका आफैले खरिद गर्न लागेको भट्टको भनाइ छ ।
सामाजिक विकास मन्त्रालयले २०७६ कात्तिकमा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो । पञ्चेश्वरको कुलाउ स्वास्थ्यचौकीले प्रयोग गर्दै आएको सो एम्बुलेन्स एक वर्षदेखि बिग्रिएर धनगढीमा थन्किएको थियो ।
यस्तै डिलासैनी गाउँपालिकाकाले पनि प्रदेश सरकारले उपलब्ध गराएको एम्बुलेन्स मन्त्रालयलाई नै फिर्ता पठाउने निर्णय गरेको प्रवक्ता यज्ञ भट्टले जानकारी दिए। “मर्मत गर्न नसक्दा एम्बुलेन्स एक वर्षदेखि थन्किएको थियो”, उनले भने , “पालिकासँग जोड्ने सबै सडक कच्ची छन्, ती सडकमा एम्बुलेन्स सञ्चालन गर्न कठिनाइ भयो, अनि फिर्ता गर्ने निर्णयमा पुग्यौँ ।” डिलासैनीले रेडक्रस केन्द्रीय कार्यालयसँग नयाँ एम्बुलेन्सको माग गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तीन वर्षअघि प्रदेशका १६ स्वास्थ्य संस्था तथा अस्पताललाई एम्बुलेन्स उपलब्ध गराएको थियो ।