धनगढी - जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरीको हिरासतमा रहेकाहरुलाई छुटाईदिने भन्दै पैसा असुल्ने ७ जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा माछा ल्याउदै गरेको अवस्थामा प्रहरीको नियन्त्रणमा रहेका भारतीय नागरिक अकवर आली र मोहमद आलीलाई छुटाईदिने भन्दै एक लाख लिएको फेला परेपछि प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका वडा नम्वर २ का २९ बर्षीय गुड्डु भनेर चिनिने सुमित सिंह, सोही ठाउँका २९ बर्षीय सुमन शर्मा, धनगढी उप–महानगरपालिका वडा नम्वर ३ बस्ने बिन्दा भन्ने विनोद शर्मा र वडा नम्वर १ बस्ने २१ बर्षीय हरिस कवाडी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भारत लखिमपुर खिरीका काले भन्ने ३० बर्षीय हाईदर अलीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनी अकवरका दाई हुन् । भारतबाट अवैध माछा ल्याउँदै गर्दा पक्राउ परेका व्यक्तिलाई प्रहरीको हिरासतबाट छुटाईदिने भन्दै पैसा लिएको खुलेपछि उनीहरुका परिवारवाट रकम असुल्ने ४ जना सहित अन्य ३ जना गरि ७ जना पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरी हिरासतबाट छुटेका २१ बर्षीय मोहमद अली र २२ बर्षीय अकवर अलिलाई पनि पुन प्रहरीले पक्राउ गरेको छ ।
शुरुमा शर्मा र सिहले आफन्तसंग १ लाख रकम लाग्ने भनि रकम माग गरी भारत पलियाबाट आफन्तलाई बोलाई नगद ५९ हजार र ४१ हजारको चेक दिएपछि उनीहरुले प्रहरी कार्यालयवाट छुटाउन प्रयास गरेपनि तत्काल नछुटेपछि उनीहरुले लिएको रकम तथा चेक आफन्तलाई नै फिर्ता गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएका प्रहरीले जनाएको छ ।
तर जि.प्र.काबाट उनीहरुलाई अब यस किसिमका गतिविधि नगर्ने शर्तमा आफन्तको जिम्मा लगाई छोडिएकोमा हरिस कवाडीले आफुले पहल गरी छुटाएको भनी आफन्तबाट नगद ६०,००० र ४०,००० को चेक आफ्नो नाममा काट्न लगाई लगेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए । साथै उक्त नगद तथा चेक समेत कवाडीको पसलबाट बरामद गरिएको उनले बताए । उनले हाल सम्म कुनै प्रहरी कर्मचारीको संलग्नता नदेखिएको समेत खुल्न आएको बताएका छन् ।