शुक्लाफाँटा - तीनसय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्ला वर्षमा वन्यजन्तुको सुरक्षाार्थ गरिने गस्तीलाई हात्तीको अभाव रहँदै आएको छ । विश्वमै दुर्लभ बाह्रसिङ्गेको प्रमुख वासस्थान शुक्लाफाँटामा ३६ पाटेबाघ, १७ वटा गैँडा लगायत चराचुरुङ्गीका साथै वन्यजन्तुको महत्वपूर्ण बासस्थान हो ।
भारतसितसमेत जोडिएको शुक्लाफाँटामा लामो समयदेखि सडक सञ्जालको पहुँच नभएको र तालतलैया भएको संवेदनशील क्षेत्रमा हात्तीको सहारामा निकुञ्ज कर्मचारी र निकुञ्ज सुरक्षार्थ खटिएको सेनाले गस्ती गर्ने गरेको छ ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका रेञ्जर प्रयास केसीले शुक्लाफाँटामा १० वटा हात्तीको दरबन्दी रहे पनि अहिले एउटा छावा (बच्चा)सहित सातवटामात्रै रहेको बताए । ‘अहिले छवटा हात्तीबाट निकुञ्ज गस्ती भइरहेको छ’, रेञ्जर केसीले भने, ‘हात्ती माग गर्दागर्दा मुस्किलले तीन महिनाअघि चितवनबाट यहाँ एउटा पोथी र अर्को बच्चा हात्ती ल्याइएको हो ।’
यहाँ निकुञ्जभित्र पश्चिम सेक्टरमा हात्तीबाट गस्तीलगायत वन्यजन्तु सुरक्षामा जोड दिइएको भए पनि पूर्व अर्जुनी सेक्टरमा भने कर्मचारी र सैनिक जनशक्ति परिचालित छ ।
‘हात्तीकै अभावले केही पर्दा मात्रै पूर्वी सेक्टरमा हात्ती पठाउने गरेका छौँ’, केसीले भने, ‘निकुञ्जलाई १५ देखि २० वटा हात्ती आवश्यक छ ।’ उनले हरेक दुई–तीन महिनामा राष्ट्रिय निकुञ्ज तथा निकुञ्ज संरक्षण विभागमा हात्तीको मागसहित पत्राचार गर्दै आएको बताए ।
यहाँ निकुञ्जभित्र पिपरिया, शुक्ला र मालुमेला गरी तीनवटा स्थानमा हात्तीसार छन् । एउटा हात्ती गस्ती लैजानेदेखि स्याहारसम्म गरेर माहुत, पछुवा र फणित गरेर तीन कर्मचारी खटिने गरेको केसीको भनाइ छ ।
‘सातवटा हात्तीमा अहिले २१ जना कर्मचारी खटिएका छन’, उनले भने । हात्ती अभावले यहाँ आउने पर्यटकलाई हात्तीबाट अवलोकन भ्रमण गराउन सकिएको छैन । ‘पर्याप्त हात्ती भए पर्यापर्यटनलाई पनि सहज हुन्थ्यो’, केसीले भने, ‘गस्तीकै लागि हात्ती पुर्याउन नसकिएको अवस्था छ ।’
निकुञ्ज कार्यालयका अनुसार केही वर्षयता मात्रै बूढो भएर दुईवटा हात्तीको मृत्यु भइसकेको छ ।
‘शुक्लाफाँटामै जन्मिएको हात्ती ‘नारायणप्रसाद’ हो’, उनले भने, ‘नारायणप्रसाद अहिले १५ वर्षको भइसक्यो ।’ विसं २०२६ मा सिकार आरक्षका रूपमा स्थापना भएको शुक्लाफाँटा २०७३ साल फागुनमा राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो । - रासस