दोधारा चाँदनी - पछिल्लो एक महिनायता कैलाली र कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण दर बढेको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी कैलालीका अनुसार कञ्चनपुरमा पशुमा रेबिजको सङ्क्रमण बढेको छ । रेबिज सङ्क्रमणका कारण कञ्चनपुरमा भैँसी, गाई र बाख्राको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख वरिष्ठ पशु चिकित्सक नरेश प्रसाद जोशीले बताए ।
उनले कैलालीका केही स्थानमा देखिए पनि कञ्चनपुरमा तीव्ररुपमा सङ्क्रमण फैलिन थालेको बताए । “कञ्चनपुरको बेदकोट र भीमदत्तका विभिन्न स्थानबाट पशु मर्न थालेपछि हामीलाई खबर आयो हामीले गएर अनुसन्धान गर्दा रेबिजको सङ्क्रमण पुष्टि भएको छ”, उनले भने, “मङ्गलबार मात्रै भीमदत्त नगरपालिका–१५ मा रेबिजको सङ्क्रमणबाट गाईको मृत्यु भएको छ ।”
रेबिजकै कारण भीमदत्त नगरपालिका–१३ मा बाख्राको मृत्यु भएको छ भने बेदकोट नगरपालिकाको चम्मापुरमा भैंसीको मृत्यु भएको छ । त्यसैगरी भीमदत्त नगरपालिकाको तिलकपुरमा पनि रेबिजकै कारण गाईको मृत्यु भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जनाएको छ ।
“कैलालीको गौरीगङ्गा र धनगढीमा सङ्क्रमण देखिएको छ”, वरिष्ठ पशु चिकित्सक जोशीले भने, “कञ्चनपुरमा रेबिजको सङ्क्रमण बढी फैलिएको छ हामीले सबैलाई सचेत हुन आग्रह गरेका छौँ”, उनले सङ्क्रमण तीव्र देखिन थालेपछि प्रयोगशालाबाट निःशुल्क रुपमा खोप उपलब्ध गराउन थालेको जानकारी दिए ।
“स्याल र कुकुरको टोकाइबाट रेबिज सङ्क्रमण हुन्छ भने सङ्क्रमणपछि यसको कुनै उपचार छैन”, उनले भने, “सबैले कुकुरमा रेबिजविरुद्धको खोप लगाउन आवश्यक छ ।” भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरका वरिष्ठ पशु चिकित्सक पानसिंह ठगुन्नाले कञ्चनपुरमा रेबिजको सङ्क्रमण फैलिएको भन्दै सबै सचेत हुनुपर्ने बताए ।
“रेबिजका कारण दुई/तीन वटा गाई र कुकुर मरिसकेका छन्”, उनले भने, “एक महिनायता सङ्क्रमणदर बढ्दो छ ।” भीमदत्त नगरपालिकाका–१४ अध्यक्ष भोजराज जोशीले रेबिजका कारण तीन वटा गाई मरेको बताए । “रेबिजकै कारण तीन वटा गाईको मृत्यु भएको हो”, उनले भने, “रातिको समयमा स्यालले या कुकुर कस्ले टोक्यो भन्ने थाहा भएन ।” कञ्चनपुरमा रेबिजका कारण गाईवस्तु मर्ने क्रम बढ्न थालेको छ । रासस