काठमाडौं - एसीसी प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज बुधबार प्रिमियर कपका लागि २१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा प्रतियोगिता वैशाख ५ गतेदेखि १८ गतेसम्म हुनेछ ।
नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, भीम सार्की, ललित राजवंशी, रोहित पौडेल, सन्दीप जोरा, मौसम ढकाल, कुशल मल्ल, आरिफ शेख, कमलसिंह ऐरी, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, गुल्सन झा, सूर्य तामाङ, सोमपाल कामी, किशोर महतो करण केसी र सन्दीप लामिछाने छन्।
प्रतियोगिताका खेलहरु कीर्तिपुर मैदान र मुलपानीमा हुनेछन् । नेपालले तीन खेल कीर्तिपुरमा खेल्दा एक खेल मुलपानीमा खेल्नेछ । नेपालले मुलपानीमा साउदी अरेबियासँग वैशाख ११ गते खेल्नेछ ।
त्यसअघि नेपालले पहिलो खेल वैशाख ५ मा मलेसियासँग कीर्तिपुर मैदानमा खेल्दै सुरुवात गर्नेछ ।
नेपालले दोस्रो खेल वैशाख ८ गते ओमानसँग र वैशाख १४ गते कतारसँग कीर्तिपुरमा खेल्नेछ । प्रतियोगितामा १० राष्ट्रको सहभागीता रहने छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते हुनेछ।
समूह ‘ए’ मा घरेलु टोली नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान तथा समूह ‘बी’ मा बहराइन, कुवेत ,सिंगापुर, हङकङ र युएई रहेका छन् । यो प्रतियोगिताको शीर्ष टोली पाकिस्तानमा हुने एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आउँदो सेप्टेम्बरमा हुनेछ ।