काठमाडौँ – खाद्य सुरक्षाका लागि खाद्यान्न खेर फाल्ने बानी अन्त्य गर्नु पर्ने विज्ञले बताएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले खाद्य प्रणालीलाई व्यवस्थित गरी खाद्यन्न खेर फाल्न छोड्ने हो भने भोकमरीको समस्या समाधानका लागि ठूलो सहयोग मिल्ने बताएका छन् ।
विश्व खाद्य दिवसका अवसरमा दिएको भिडियो सन्देशमा उनले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गरेका हुन् । हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ । खानाको अभावमा कोही पनि बस्नु नपरोस् भन्ने चाहनाका साथ विश्वभर यो दिवस मनाउने गरिन्छ ।
सन् १९४५ मा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष अक्टोबर १६ मा यो दिवस मनाइन्छ । यस वर्षको विश्व खाद्य दिवसको नारा आवर एक्सन्स आर आवर फ्यूचरः हेल्दी डाइट्स फर जिरो हंगर वर्ल्ड रहेको छ ।
सन् १९८१ देखि मनाउन थालिएको यो दिवसको ३९ औं संस्करण हो । दिवसको मूख्य उद्देश्य विश्वव्यापी रुपमा खाद्य सुरक्षा तथा पोषणको महत्वबारे चेतना जगाउनु र खाद्य संकट तथा भोकमरीको चपेटामा परेकाहरुलाई सहयोग गर्न विश्वव्यापी पहल र ऐक्यवद्धता जनाउनु हो । यस्तै खाद्यन्नको समान वितरणलाई पनि जोड दिइन्छ, यो दिवसका अवसरमा । तर अझै पनि विश्वमा ८२० मिलियन (८२ करोड) मानिसले पर्याप्त मात्रामा खान पाएका छैनन् । तर २० लाख मानिसमा मोटोपनको समस्या छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुट्रेसले भनेका छन, ‘भोकमरी बढ्दै गएको अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन किनकी विश्वका धेरै मानिसले वर्षको एक अर्ब टन भन्दा बढी खाद्यन्न खेर फालिरहेका छन् ।’ खाद्य सुरक्षाका लागि जलवायु परिवर्तन रहेकाले त्यसको असर कम गर्नका लागि पनि काम गर्नु पर्ने विज्ञले बताएका छन् ।
विश्वमा हरेक पाँच सेकेन्डमा भोकमरीका कारण पाँच वर्षमुनिका एक जना बालबालिकाको मृत्यु हुने गरेको छ । एसिया तथा प्यासिफिक क्षेत्रमा विश्वको कूल जनसंख्याको आधा हिस्सा रहेको छ भने कूल भोकमरीबाट ग्रस्त जनसंख्याको दुइ तिहाई जनसंख्या यही क्षेत्रमा रहेका छन् । दक्षिण एसीयाली मुलुकहरुमा मात्र ५० करोडभन्दा बढी मानिस दीर्घकालीन खाद्य असुरक्षाको अवस्थामा रहेका छन् ।
यसै परिप्रेक्ष्यमा संयुक्त राष्ट्र संघको पहल र अगुवाईमा दीगो विकासका लक्ष्य कायम गरिएका छन् र ती मध्ये एक महत्वपूर्ण लक्ष्य सन् २०३० सम्ममा विश्वव्यापी रुपमै भोकमरीको अवस्था शून्यमा झार्ने रहेको छ ।
पछिल्ला दुई दशकमा विश्वले खाद्य सुरक्षामा राम्रो उपलब्धी हाँसिल गरेको भएता पनि सन् २०१५ देखि खाद्य सुरक्षाको अवस्था क्रमशः खस्किँदै गएको तथ्याङ्कले देखाएको छ । विश्वव्यापी रुपमा भोकमरीको अवस्था कम गर्न सार्थक पहल हुन नसकेमा आगामी दिनमा खाद्य असुरक्षा अझै बढ्दै जाने अध्ययनहरुले देखाएका छन् ।
सन् २०५० सम्म विश्वको जनसंख्या करिब १० अर्ब पुग्ने र त्यति जनसंख्यालाई आवश्यक खाद्यान्न आपूर्ति गर्न हालको उत्पादन बढाएर दोब्बर बनाउनु पर्ने हुन्छ ।
जलवायु परिवर्तनको असर कृषि उत्पादनमा परिरहेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावका बिच तीव्र गतिमा बढ्दो जनसंख्याका लागि आवश्यक पर्ने थप खाद्यान्न उत्पादन गरि पोषणयुक्त खाद्य पदार्थको आपूर्ति बढाउनु ठूलो चुनौतिको रुपमा रहेको छ ।