काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमारको चारदिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् । भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा त्यसतर्फ गएकी हुन् । परराष्ट्र मन्त्रालयका अनुसार भण्डारीले त्यहाँका राष्ट्रपति मिन्टसँग दुईपक्षीय वार्ता गर्ने्छिन् । उनले म्यानमारकी स्टेट काउन्सिलर आङ सान सुकी सँग पनि भेट गर्ने छिन् ।
म्यानमारका राष्ट्रपति मिन्टले आयोजना गर्ने राजकीय भोजमा राष्ट्रपति भण्डारी सहभागी हुने छिन् । राष्ट्रपति भण्डारीले पिङ ओ लिङमा म्यानमारका नेपालीभाषी सँग पनि भेट्ने कार्यक्रम छ । उनले बगानमा युनेस्को विश्व सम्पदा क्षेत्र, पूर्वराजधानी सहर यंगुनका ऐतिहासिक र सांस्कृतिक महत्त्वका ठाउँका पनि भ्रमण गर्नेछिन् ।
राष्ट्रपतिको टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल लगायत छन् । राष्ट्रपति भण्डारी कात्तिक २ मा जापान जाने छिन् । उनी त्यहाँका नयाँ राजा नारुहितोको गद्दी आरोहण समारोहमा उपस्थित हुने छिन् । राष्ट्रपति भण्डारी ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शीतलनिवासबाट हेलिकप्टर चढेर विमानस्थल पुगेकी छन् । यसअघि सडक मार्ग भएर विमानस्थल जाने गरेकी राष्ट्रपति भण्डारी म्यानमार जाने क्रममा बुधबार बिहान हेलिकप्टरमार्फत विमानस्थल पुगेकी हुन् ।
सडक मार्ग नभएर राष्ट्रपति किन हेलिकप्टर मार्फत विमानस्थल गइन् भन्नेबारे राष्ट्रपति निवासले केही बताएको छैन । म्यानमारका समकक्षी विन मिन्टको निमन्त्रणामा म्यानमार जान लागेकी राष्ट्रपति भण्डारी बिहान ११ बजे हेलिकोप्टरमार्फत विमानस्थलमा उत्रिएर त्यसतर्फ प्रस्थान गरेकी छन् ।
म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन् ।