डडेल्धुरा – दुधको उत्पादनमा बृद्धि हँुदै गए पछि आलितताल गाउँपालिकाले दुध ट्यांकर खरिद गर्ने योजना बनाएको छ । भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुधको सहज आपूर्तिका लागि विभिन्न गैर सरकारी संघसंस्थाहरुको सहयोगमा आलिताल गाउँपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गाउँपालिका मार्फत दुध बोक्ने ट्यांकर खरिद गर्न लागेको हो ।
दुध उत्पादन बृद्धि भए संगै कैलालीका डेरी र दूग्ध संलन केन्द्रले दुध खरिद गर्न थाले पनि किसानको सहजताका लागि गाउँपालिकाले ट्यांकर खरिद गर्न लागेको गाउँपालिकाले जनाएको छ ।
कम्तिमा ६ हजार ५ सय लिटर क्षमताको दुध बोक्ने ट्यांकर खरिद प्रक्रिया अगाडि बढाईएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ्गले बताए । दुध बोक्ने ट्यांकर खरिद पछि सबै सिजनमा किसानको दुध बिक्रि हुनेमा आफू ढुक्क रहेको उनले बताए ।
किसानको हकहितका लागि विभिन्न निकाय संगको साझेदारीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक दुध ट्यांकर खरिद गर्न लागेको उनको भनाई छ । डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुध पछिल्लो समयमा व्यवस्थित हुँदै गएको छ ।
भित्रिमधेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने दुधको व्यवस्थित बजारीकरण पश्चात किसान तथा दुध संकलकहरुले राहत महसुस गरेका छन ।
यस क्षेत्रमा व्यक्तिगत एवं सामूहिक रुपमा उत्पादन गरिएको दुध संकलन गर्न परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा विगत तिन वर्ष देखि चार वटा दूग्ध संकलन केन्द्र सञ्चालनमा छन । यस वर्ष थप दुई स्थानमा दूग्ध संकलन केन्द्र स्थापना भई छ वटा दूग्ध संकलन केन्द्र पुगेका छन् । करिब दुई सय ५० घरधुरीले उन्नत जातका गाई भैँसी पालन गरी दूग्ध उत्पादन सुरु गरेकोमा हाल प्रत्येक दिन दुई हजार पाँच सय देखि तीन हजार लिटरको हाराहारीमा दूध संकलन हुने गरेको छ ।
गाईपालन तथा दूध संकलन केन्द्र सञ्चालनका लागि मर्सिकोर नेपाल, नेपाल रेडक्रस सोसाइटी, एकिकृत विकास समाज र तत्कालिन जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग गरेका छन ।
उत्पादन गरिएको दुध छिमेकी जिल्ला कैलालीका विभिन्न डेरी मार्फत बजार सम्म पुग्ने गरेको गोदाम संकलन केन्द्रका सञ्चालक जयबहादुर बोहराले बताए । दुध संकलन लाई व्यवस्थि गर्न गैर सरकारी संघ संस्था संगै, स्थानिय तह र पशु विकास शाखाले सहयोग गरिरहेको उनको भनाई छ ।
दूग्ध संकलन केन्द्रमा संकलन भएको दूध कैलालीमा रहेको खप्तड डेरी तथा दूग्ध विकास संस्थानले खरिद गर्ने भएकाले व्यवसाय व्यवस्थित बन्दै गएको उनले बताए ।