डोटी - डोटीमा पनि ट्राईल स्थल बन्ने भएको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिका ४ राजपुरमा पहिलो पटक ट्राईल स्थलको शिलान्यास गरिएको छ । ट्राईल स्थलको आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहराले शिलान्यास गर्नुभएको हो ।
दिपायल सिलगढी नगर विकास समितिको जमिनमा यातायात व्यवस्था सेवा कार्यालय डोटीले ट्राईल सेन्टर निर्माण गर्न लागेको छ । ट्राईल स्थल निर्माण भएपछि यातायातको लाइसेन्सको परीक्षा आफ््नै ठाउमा दिन पाउने भन्दै डोटी, अछाम र बाजुराका नागरिक खुसी भएका छन् । शिलान्याश कार्यक्रममा बोल्दै मन्त्री बोहराले ट्राईल सेन्टर निर्माण भएपछि पाहाडी जिल्लाका नागरिकहरुलाई सवारी साधनको सवारी चालक अनुमती पत्र (लाईसेन्स) लिन ठूलो मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।
उनले हिजोका दिनदेखि डोटी जिल्लामा संञ्चालनमा रहेका कार्यालयहरू त्याही यथावत् रूपमा सञ्चालन गर्नुका साथै नयाँ संरचनाहरू पनि निर्माणका लागि सुदूरपश्चिम प्रदेश सभाले निर्णय समेत गरेको बताए । जिल्ला समन्वय समिति डोटीका प्रमूख राम बहादुर ऐरले दिपायलबाट राजधानी कैलाली सारेर लगिएकोमा पीडाबोध गर्दै डोटीमा रहेका सरकारी कार्यालयहरुमा सेवा सुविधा बिस्तार गरी सरकारले डोटेली र पहाडी जनतालाई राहतको महशुस हुने गरी काम गर्नुपर्नेमा जोड दिए ।
ट्राईल सेन्टर निर्माण कार्यलाई तीव्रता दिई आगामी असार महिनादेखि सवारी चालक अनुमति पत्र प्रदान गर्ने गरी काम अगाडी बढाइएको यातायात व्यवस्था सेवा कार्यालय डोटीका कार्यालय प्रमुख ध्रुव दयालले जानकारी दिए । डोटीमा स्थापना गरिएको उक्त कार्यालयले सवारी दर्ता नवीकरण, बाटो इजाजत पत्र सम्बन्धी काम, यातायात सेवा पञ्जीकृत सम्बन्धी काम, सवारी जाँच पास, सेती यातायातबाट जारी भएका लाइसेन्स नवीकरण, सवारी अनुगमन लगायत कार्यहरू गरिरहेको छ ।
उक्त ट्राईल सेन्टर कुल २७ लाख ८१ हजारको लागतमा बन्ने भएको छ । ट्राईल सेन्टरको डालीमा निर्माण सेवा, धनगढी कैलालीले निर्माण सम्बन्धी ठेक्का पाएको छ ।