अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा न १ अत्तरियामा निर्माणाधिन कोल्ड स्टोर निर्माण कार्य अलपत्र परेको छ । कोल्ड स्टोर निर्माणका लागि खण्ड खण्डमा काम गरिदाँ अहिले निर्माण कार्य अलपत्र परेको हो । कृषि बजार व्यवस्थापन समिति मार्फत डेढ बर्ष अगाडी कोल्ड स्टोरको फाउन्डेन निर्माण गरिएको थियो ।
९ लाख खर्च गरेर फाउन्डेन निर्माण गरेको समितिले त्यसपछि कोल्डस्टोर संचालन गर्न सकिने स्ट्रक्चर निर्माण गर्नका लागि न्यु सिद्धार्थ रेफ्रिजेरेसन ९५ लाखमा ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अनुसार २०७२ साल जेठ २० गते सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने भएपनि अहिले स्ट्रक्चर समेत बन्न सकेको छैन ।
न्यु सिद्धार्थ रेफ्रिजेरेसन संग कृषि बजार व्यवस्थापन समितिले निर्माण गरेको फाउन्डेन स्ट्रक्चर निमाण गर्ने सम्झौता गरिएको थियो । तर न्यु सिद्धार्थ रेफ्रिजेरेसन संग ३०० टन क्षमताको कोल्ड स्टोर निर्माणको सम्झौता भएपनि फाउन्डेसनको आकार ठुलो हुँदा अहिले सम्झौता भन्दा बढी लागत लाग्ने भएपछि निर्माण रोकिएको छ ।
कृषि बजार व्यवस्थापन समितिका सदस्य तेज राज पनेरुले ३०० टन क्षमताको कोल्ड स्टोर निर्माणको स्टमेट अनुसार सम्झौता भएको भएपनि फाउन्डेसन निर्माणमा भएको त्रुटिका कारण अहिले ३ सय २७ टन क्षमताको कोल्ड स्टोर बनाउनु पर्ने देखिएको बताए । उनले कोल्ड स्टोरको आकार ठुलो भएका कारण स्टमेट अनुसार ल्याईएको पफप्यानल कम पर्दा स्ट्रक्चरको निर्माण कार्य रोकिएको बताए ।
अहिले कोल्ड स्टोर निर्माणमा स्टमेट भन्दा बढी काम भएको भन्दै निर्माण कम्पनिले अधुरै काम छोडेको छ भने कृषि बजार व्यवस्थापन समितिले रकम अभाव भएको भन्दै काम अगाडी बढाउन सकेको छैन ।

मेसिन जडानका लागि अझै ६५ लाख आवश्यक पर्ने
कोल्ड स्टोरको स्ट्रक्चर निर्माण कार्य अलपत्र परिरहदा कोल्डस्टोरमा जडान गरिने मेसीनका लागि अझै ६० देखि ६५ लाख आवश्यक पर्ने छ । तर अहिले स्ट्रक्चर निर्माणकै लागि रकम अभाव हुँदा कोल्ड स्टोर निर्माण अन्यौलता कायमै रहेको छ । गोदावरी नगरपालिका मार्फत उपलब्ध भएको ४५ लाख र संघिय सरकारको बजार निर्देशनालय मार्फत ५० लाखमा समेत कोल्डस्टोरको स्ट्रक्चर निर्माण हुन नसक्दा मेसिन जडानको लागि अन्यौलता कायम रहेको कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल भट्टले बताए ।
उनले रकम अभाव भएका कारण कोल्ड स्टोरको स्ट्रक्चर निर्माण अधुरो रहेको र कोल्ड स्टोरको लागि आवश्यक पर्ने मेसिनको जडान गर्न नसकिएको बताए । उनले कोल्डस्टोरका लागि रकम जुटाउनका लागि नगरपालिका , प्रदेश र संघिय सरकारसंग समन्वय गरिरहेको बताए । कृषि बजार व्यवस्थापन समितिका सदस्य पनेरुले गोदावरी नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि थप आवश्यक पर्ने रकम विनियोजन गर्ने आश्वासन दिएको भएपनि चालु आर्थिक बर्षमा रकम बिनियोजन नगर्दा निर्माण कार्य झनै अनिश्चित बनेको बताए ।
गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले कोल्ड स्टोर निर्माणको लागि नगरपालिकाले आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताए । कृषि उपज थोक बजार केन्द्रमा भारत लगायत नेपालका कैलाली , कन्चनपुर , डडेल्धुरा ,बैतडी , डोटी लगायतका क्षेत्रबाट तरकारी आउँने र केन्द्रबाट स्थानिय बजार संगै काठमाण्डौ लगायत मौसम अनुसार शुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा तरकारी पठाईने गरिएको छ । अहिले कोल्ड स्टोर नहुँदा तरकारी तथा फलफुल बिग्रने गरेका कारण किसान तथा व्यवसायी ठुलो आर्थिक नोक्सानी वेहोर्दै आएका छन ।
कोल्ड स्टोर नहुँदा व्यवसायीहरुले बढी मात्रामा तरकारी तथा फलफुल किन्दा बिग्रने गरेकाले ठुलो नोक्सानी बेहोर्दै आएको बताउने गरेका छन । कृषि उपज थोक बजार केन्द्रमा अहिले ३० ओटा कृषि थोक पसल र ५ ओटा खुद्रा कृषि पसल रहेका छन ।