कैलाली -त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्त्रर्गत सामुदायिक तथा आंगिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे मतदान भइरहेको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा रहेका ३६ क्याम्पसमा तोकिएकै समयमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार कैलालीका १०, कञ्चनपुरमा ६, डोटीमा ३, अछाममा २, बाजुरा एक, डडेल्धुरा १ बझाङ ९ र दार्चुलाका ४ क्याम्पसमा शान्तिपूर्ण वातावरणमा उत्साहजनक उपस्थितिमा मतदान भइरहेको हो ।
कञ्चनपुरको दानेश्वरहरी बहुमुखी क्याम्पस, बझाङको त्रिवेणी आर्दश बहुमुखी क्याम्पस र दार्चुलाको गोकुलेश्वर बहुमुखी क्याम्पसमा यस अघि नै निर्विरोध निर्वाचन भएको थियो ।
सुदूरपश्चिम प्रदेशमा त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालय अन्र्तगतका २३ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । चुनाव स्थगित हुनेमा अछाम ५ , कैलाली २, बैतडी २, कञ्चनपुर ९, डोटी १, दार्चुला १, बझाङ १ र बाजुरा २ क्याम्पस रहेका छन् ।
त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको स्ववियु निर्वाचनको कार्यतालिका अनुसार चैत्र ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान समय रहेको छ ।
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक तथा त्रिवि केन्द्रिय स्ववियु निर्वाचन अनुगमन तथा समन्वय समितका सदस्य सचिव पशुपति अधिकारीले ६१ आंगिक क्याम्पस र ५०० बढी सामुदायिक क्याम्पसमा उत्साहपूर्ण उपस्थितिमा मतदान भइरहेको जानकारी दिए।