कैलाली - कैलाली जिल्लाका करिब ६ हजार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने भएको छ। यार्ड नेपालले जिल्लामा रहेका सामुदायिक तथा गुठी विद्यालयमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्ने भएको हो। यार्ड नेपालका अध्यक्ष वंशीराम चौधरीले विद्यार्थीले आर्थिक अभावका कारण विद्यालय छाड्नुपर्ने वातावरण नआओस् भन्नका लागि छात्रवृत्ति प्रदान गरिरहेको बताए।
उनले ताइवानमा रहेको चुजी च्यारिटी फाउन्डेसनको आर्थिक सहयोगमा जिल्लाका तीन ओटा पालिकामा छात्रवृत्ति वितरणको कार्यक्रम चलिरहेको बताए। उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा छात्रवृत्तिको कार्यक्रम चलिरहेको छ। उनले हालसम्म करिब दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिसकिएको जानकारी दिए।
‘नयाँ शैक्षिक सत्र आइरहेको छ, यो समयमा आर्थिक अभावकै कारण धेरैजसो बालबालिकाले विद्यालय छाड्ने अवस्था आउने गर्दछ,’ उनले भने, ‘त्यसैले यो समयमा बालबालिकालाई शैक्षिक सामग्री खरिद गरी विद्यालय छाड्नुपर्ने अवस्था नआओस् भन्नका लागि हामीले छात्रवृत्ति वितरण गरिरहेका छौं।’ उनले कापी कलम तथा ड्रेस किन्न नसक्दा विद्यालय छोडेर विदेशतिर जाने परिपाटीको अन्त्यका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको बताए।
यार्ड नेपालले धनगढीका करिब ७३, गोदावरीका ५० र कैलारीका एक दर्जन जति विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिरहेको छ। जसमा सामुदायिक विद्यालय र गुठीद्वारा सञ्चालित विद्यालय समावेश गरिएका छन्। कैलाली जिल्लाका युवा मिलेर २०६७ सालमा स्थापना भएको यार्ड नेपाल स्वयंसेवक संस्थाका रुपमा रहेको छ।
शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको यसले छात्रवृत्तिको कार्यक्रमका साथै प्रजनन तथा यौन स्वास्थ्य शिक्षासम्बन्धी धनगढी, गोदावरी र कृष्णपुर नगरपालिकामा काम गरिरहेको यार्डका अध्यक्ष वंशीराम चौधरीले बताए। त्यसका साथै टीकापुर र भजनी नगरपालिकामा डिजिटल स्टोरी टेलिङ तथा डिजिटल एजुकेशनसम्बन्धी १५ ओटा विद्यालयमा उक्त संस्थाले काम गर्ने बताइएको छ। -रासस