टीकापुर - जिल्ला अदालत कैलालीले टीकापुर नगरपालिकाकाको नाममा अन्तरिम आदेश दिएको छ । टीकापुर नगरपालिका–१ वनगाउँस्थित जग्गा खाली नगर्न कैलाली अदालतले अन्तरिम आदेश दिएको हो ।
टीकापुरका स्थानीय नरबहादुर बुढामगरसहित ७ परिवारले भोगचलन गर्दै आएको झन्डै एक बिघा जग्गा, घर, गोठबाट नहटाउनु नभत्काउनु भन्दै अदालतले अन्तिरम आदेश दिएको छ । जिल्ला न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले नगरपालिका, नगर प्रमुख रामलाल डगौरा थारु र टीकापुर नगर विकास समितिका नाममा जग्गा खाली नगराउन अन्तरिम आदेश दिएको हो ।
‘निवेदकले माग गरेको अन्तरिम आदेशको हकमा विचार गर्दा निवेदकहरूले आफू बसिआएको घरजग्गाको पानीको कर, बिजुलीको कर तिरेको देखिएको र तत्काल निवेदकहरूको घर गोठ खाली गराउँदा नेपालको संविधानले परिकल्पना गरेका निवेदकहरूको आवास तथा सम्पत्तिसम्बन्धी अधिकारमा आघात पर्ने हुँदा जग्गा खाली नगर्नु’, आदेशमा भनिएको छ ।
‘पछि लिखित परेपछि पुनर्विचार हुने नै हुँदा हाल निवेदकको मागबमोजिम निवेदकहरूको जग्गा, घर, गोठबाट नहटाउनु, नभत्काउनु भनी विपक्षीहरूको नाउँमा जिल्ला अदालत नियमावली २०५२ को नियम ३४ बमोजिम यो अन्तरिम आदेशसमेत जारी गरिएको छ ।’ आदेशमा नगरपालिका, नगर प्रमुख, नगरविकास समितिलाई १५ दिनभित्र लिखित जवाफ पठाउनसमेत भनिएको छ ।