काठमाडौं - उपराष्ट्रपति निर्वाचनका लागि गएराति १२ बजेदेखि प्रचारप्रसार निषेधको अवधि (मौन अवधि) सुरु भएको छ । उपराष्ट्रपति निर्वाचन आउँदो शुक्रबार हुँदैछ ।
मतदान हुने दिनभन्दा ४८ घण्टा अगाडिदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म निषेधको अवधि लागु गरिएको हो ।
मौन अवधिमा उम्मेदवारले प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी, पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न र सामाजिक सञ्जालबाट मत माग्न नपाउने आयोगले जनाएको छ ।
आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ । आचारसंहिताबमोजिम चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निषेधको अवधि लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।
उपराष्ट्रपति पदका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहाय प्रसाद यादवको उम्मेदवारी परेको छ भने प्रतिपक्षी नेकपा एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ ।
यस्तै, जनमत पार्टीले ममता झालाई उम्मेदवार उठाएको छ । जसपाकी प्रमिला कुमारी यादवले उम्मेदवारी दिएपनि उनले उम्मेदवारी निष्कृय भएको घोषणा गरेकी छन् । उनले रामसहाय यादवलाई समर्थन गर्ने घोषणा गरिसकेकी छन् ।
नयाँ उपराष्ट्रपति चयनका लागि प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुले मतदान गर्न पाउने छन् ।