डडेल्धुरा- भारतसँग सीमा जोडिएको भित्री मधेशको जोगबुडा क्षेत्रको महाकालीमा पुल नहुँदा स्थानीय जोखिम मोल्दै महाकाली नदी वारपार गरिरहेका छन्। भित्री मधेश क्षेत्र परशुराम नगरपालिका र भारतलाई जोड्न महाकालीमा पुल नहुँदा जोखिम मोलेर स्थानीय डुङ्गाबाट वारपार गर्दै आएका छन्।
डडेल्धुराको झन्डै आधा जनसङ्ख्या रहेको भित्री मधेश क्षेत्रका स्थानीय दैनिक उपभोग्य वस्तु खरिद गर्नसमेत भारतीय बजार ठूलीगाड, बुम, टनकपुर, वनवासा पुग्ने गर्छन्। कृषि उपजले भारतीय बजारमा राम्रो मूल्य पाउँछ भने उपभोग्य वस्तु सुपथ मूल्यमा खरिद गर्न पाइन्छ। यस कारण खास गरेर परशुराम नगरपालिका–५, ६ र ७ का स्थानीयवासी भारतिय बजार आउजाउ गर्छन्।
महाकाली तरेपछि भारतीय सीमामा कालोपत्रे सडक छ। औषधि उपचारका लागि समेत भित्री मधेशवासी भारतको खटिमा, बरेली बजारका अस्पतालमा पुग्ने गरेको वडा नं. ६ का वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए ।
परशुराम नगरपालिका–५, परिगाउँस्थित महाकाली नदीको बाङ्घाट र वडा नम्बर ६ को सिसमझालामा नदी तर्ने दुईवटा घाट छन्। यी दुई घाटबाट दैनिक सयौँको सङ्ख्यामा स्थानीयवासी महाकाली नदी वारपार गर्ने गर्छन्। रोजगारीको सिलसिलामा भारतका विभिन्न सहर पुग्ने भित्री मधेशवासी यही घाटबाट डुङ्गा तर्दै वारपार गर्दै आइरहेका छन्।
महाकाली नदीमा पुलको माग गरे पनि हालसम्म कुनै सुनुवाइ हुन नसकेको वडाध्यक्ष सिंहले बताए। दुईवटै घाटमा डुङ्गा सञ्चालन गर्न वडा कार्यालयले बढाबढीमा मोलमोलाइ गरेर ठेक्का सम्झौता गरेको उनले बताए । दुईवटै घाटमा वार्षिक डेढरडेढ लाख रुपियाँका दरले डुङ्गा सञ्चालकलाई ठेक्का दिइएको उनले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गत चुनावमा महकाली नदीमाथि परशुराममा मोटरेबल पुल बनाउन पहल गर्ने बताएकाले पुल बन्छ भन्ने आशा पनि स्थानीयवासीमा छ। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले महाकाली नदीमा पुल बनाउने पार्टीको एउटा मुख्य एजेन्डा रहेको बताएका छन् ।
तर, नेताका भाषण र भनाइमा स्थानीय भने पूर्ण रूपमा विश्वस्त हुन नसकेको स्थानीय मीना साउदको भनाइ छ। “चुनावका बेला पार्टीका नेता कार्यकर्ताले सबै समस्या समाधान गरिने भनेर भन्नुहुन्छ,’ उनले भने, “तर चुनाव जितेपछि समस्या समाधानतर्फ नेताको ध्यान जाँदैन।”
२०७४ सालको निर्वाचनमा भित्री मधेश क्षेत्रबाट परशुराम नगरपालिकाकै पठानसिंह बोहरा नेकपा ९एमाले०बाट विजयी भएर तीन वर्षसम्म सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधारमन्त्री पनि बन्नुभयो तर महाकालीमा पुल बनाउन पहल नगरेको उनले बताए।
२०७० सालको निर्वाचनमा नेपाली कांग्रेसबाट परशुरामका नरभान कामी प्रतिनिधि सभामा समानुपातिक सदस्य बने। २०७४ मै नेकपा (एमाले)बाट चक्र स्नेही राष्ट्रिय सभा सदस्यसमेत बने। हाल पनि भित्री मधेश क्षेत्र आलितालका जगत पार्की नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य रहेका छन् तर महाकाली नदीमा पुल नहुँदा स्थानीयले जोखिम मोलेरै वारपार गर्नुपर्ने बाध्यता यथावत् छ।
भारतको उत्तराखण्डमा रहेको पूर्णागिरिधाम र नेपालतर्फको परशुरामधामका पर्यटकमार्फत जोड्न पनि महाकालीमा पुल आवश्यक छ। भगवान् परशुरामले ध्यान र स्नान गरेको परशुरामधाममा माघेसङ्क्रान्तिका दिन ठूलो मेला लाग्ने गर्छ। सुदूरपश्चिम, नेपालका विभिन्न स्थानलगायत भारतबाट समेत ठूलो सङ्ख्यामा स्नान गर्न भक्तजन परशुरामधाम पुग्ने गर्छन्।