अत्तरिया -नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पूर्व उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिलेको वर्तमान सरकार बाह्य शक्तिबाट परिचालित भएको बताएका छन्।
एमालेको ग्रास रुट अभियानको क्रममा कैलालीस्थित गोदावरीको -१ मा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले यस्तो बताएका हुन्।
अहिलेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अन्तैबाट चलिरहेको र सरकारलाई समर्थन गर्ने दश दलीय गठबन्धन बिदेशीबाट परिचालित रहेको भण्डारीको आरोप छ ।
उनले भने, ‘अन्तकै आदेश र इसाराबाट अहिलेको सरकार चलिरहेको छ। अहिले अन्तैबाट कोही आउने एकैपटक सबैलाई भेटेर निर्देशन जारी गर्ने र त्योलाई अक्षरसः पालना गर्ने प्रवृत्ति देखिएको छ। उताबाट आदेश आउँछ, यता दशदलीय गठबन्धन आदेश पालना गर्छ। आज नेपालको राज्य सत्ता बाहिरबाट चलिरहेको छ। यस्ता कारणले यो सरकारप्रति सबै क्षेत्रमा निराशा पैदा भएको छ।’
यस्तै उनले अहिलेको सरकार राष्ट्रिय समस्याबाट भागिरहेको र समस्या समाधान गर्न छाडेर आदेश पालनामा लागेको आरोप लगाए।एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनाएको र १० सिटको मान्छेलाई राष्ट्रपति बनाउन खोजेको भएपनी त्यो अहिलेको गठबन्धनका नेताहरुले नबुझेको जिकिर गरे।
‘अहिले एमाले र कम्युनिष्ट आन्दोलनलाई टुटफुट बनाउन खोजिएको छ’, उनले भने, ‘यसअघि हाम्रो एमालेले ३२ सिटको नेता प्रचण्डलाई प्रधानमन्त्री बनायो। त्यसपछि १० सिटको मान्छेलाई राष्ट्रपति बनाउन खोज्यो। तिनै मान्छेले दक्षिणपन्थी र प्रतिक्रियावादी शक्तिलाई राज्य सत्ता बुझाएर उनीहरूको शरणमा गए।’
त्यस्तै उनले एमालेको नेतृत्वमा बसेका व्यक्तिहरू सच्चिनुपर्ने जिकिर गरे। पार्टीमा अवसरवादबाट प्रेरित नभएर नेताहरू नीति, विचार र पार्टीको आवश्यकता र औचित्यबाट निर्देशित हुनुपर्ने उनले बताए। अवसरवादका कारणले एमाले पार्टी कमजोर हुने उनको भनाइ छ।