डडेल्धुरा - परम्परागत रूपमा आरन व्यवसाय गर्दै आइरहेका उद्यमीलाई अनुदानमा विद्युतीय उपकरण हस्तान्तरण गरिएको छ। कृषि ज्ञान केन्द्र डडेल्धुराले कृषि औजार बनाउन सहज हुने गरी विद्युतीय उपहरण वेल्डिङ र कटर मेसिन हस्तान्तरण गरेको हो।
ज्ञान केन्द्रले दुई जनालाई मेसिन उपलब्ध गराएको छ। दुई जनालाई केही दिनमा उपलब्ध गराइने कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।
नवदुर्गा गाउँपालिका–२ का आरन व्यवसायी वीरबहादुर लोहार र टीका लुहारलाई मङ्गलबार नवदुर्गा गाउँपालिका अध्यक्ष लक्ष्मी अवस्थीले मेसिन हस्तान्तरण गरेका हुन् । कृषि औजार यन्त्र उपकरण उत्पादन गर्ने उद्यमीलाई अनुदान सहयोग कार्यक्रमअन्तर्गत १० लाख रुपियाँका उपकरण चार जना आरन व्यवसायीलाई उपलब्ध गराउने ज्ञान केन्द्रको कार्यक्रम थियो। एक जना आरन उद्यमीलाई दुई लाख ५० हजार रुपियाँ बराबरका उपकरण उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। उपकरण पाउने आरन उद्यमीमध्ये दुई जना नवदुर्गा–२ र अन्य एक–एक जना अमरगढी नगरपालिका–३ र गन्यापधुरा गाउँपालिका–१, रुवाखोला गाउँका रहेको कार्यालय निमित्त प्रमुख भट्टले बताए। दुई जना कामको व्यस्तताका कारण कार्यालयमा आउन नसकेकाले हस्तान्तरण गर्न नसकेको उनले जानकारी दिए। चारै जनाको निवेदन परेका उनहरूलाई उपकरण उपलब्ध गराइएको जानकारी उनले दिए।
गाउँपालिका अध्यक्ष अवस्थीका अनुसार उपकरण पाएका नवदुर्गा गाउँपालिकाका आरन उद्यमीलाई गाउँपालिकाले ट्रसको घर बनाइदिनेछ। करिब डेढरडेढ लाख रुपियाँ लागतमा ट्रसको घर बनाइनेछ। उपकरण बनाउन सहजताका लागि गाउँपालिकाले घर बनाइदिन लागेको उनको भनाइ छ।
उपकरण पाएपछि काम गर्न सहज हुने स्थानीय वीरबहादुर लुहारले बताए । बाउबाजेले गर्दै आइरहेका आरनको काम हामीहरूले पनि गर्दै आइरहेका छौँ। उनले भने , “आवश्यक उपकरण नहुँदा निकै तागत लगाई काम गर्नुपथ्र्यो। पहिले ढिलो पनि हुन्थ्यो, निकै कडा मेहनत गर्नुपथ्र्यो।”
अब भने आरनका औजार बनाउन सहज हुने उनको बुझाइ छ। वेल्डिङ, कटर उपकरण पाएकाले अब कृषि औजारसँगै घरका झ्यालमा लगाउने रेलिङ, आरनका बार बनाई आम्दानी बढाउन सकिने भन्दै उनीरू दुवै जनाले खुसी व्यक्त गरे । उपकरण हुँदा कडा परिश्रम गर्नु नपर्ने र थोरै समयमा बढी औजार बनाउन सकिने उनले बताए ।