अत्तरिया – छाडा पशुचौपायाको समस्याले सुदूरपश्चिम प्रदेशका कैलाली कन्चनपुर जिल्ला आक्रान्त बनिरहेका बेला अत्तरियाको बषपार्कका सवारी साधन व्यवस्थापनमा छाडा पशुचौपाया मुख्य चुनौती बनेका छन ।
बसपार्क भित्र र बसपार्कको प्रबेशद्धारमा रहेका छाडा पशुचौपायाले सवारी साधन ओहोरदोहोर गर्न निकै समस्या हुने गरेको छ । सवारी पार्किङ गर्ने क्षेत्रमा पनि छाडा पशुचौपाया हुँदा सवारी साधन पार्किङ गर्न समस्या हुने गरेको छ ।
बसपार्क भित्र र बसपार्क प्रबेशद्धार क्षेत्रमा भएका छाडा पशुचौपायाका कारण दुर्घटनाको जोखिम समेत बढेको छ भने सवारी साधन आवतजावतमा पनि समस्या हुने गरेको छ ।

बसपार्क क्षेत्रमा छाडा पशुचौपायाका लागि बढी फोहर खानेकुरा पाईने भएका कारण अन्य क्षेत्रको तुलनामा बसपार्क क्षेत्रमा बढी छाडा पशुचौपाया देखिने गरेका छन । बसपार्कमा बढि भिडभाड हुने साँझको समयमा छाडा पशुचौपाया बढी आउने गरेका कारण व्यवस्थापनमा झन समस्या हुने गरेको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रहरी प्रमुख मोहन साउँदले छाडा पशुचौपायले ट्राफिक व्यवस्थापनमा समस्या थपेको बताए । उनले छाडा पशुचौपाया हटाएर ट्राफिक प्रहरीले सवारी साधन संचालन गर्ने गरेको भएपनि यो समस्या सामाधानको दिगो उपाय नभएको बताए ।
‘छाडा पशुचौपाया व्यवस्थापनका लागि सरोकारबाला सबै निकाय सक्रिय हुनु पर्छ ।’ निमित्त प्रहरी प्रमुख साउँदले भने –‘यसको दिगो समस्या सामाधानका लागि ठोस काम गर्न आवश्यक छ । हामीले छाडा पशुचौपायाको समस्या समाधानका लागि पटक पटक स्थानिय तहसंग पनि छलफल गर्ने गरेका छै । तर समस्याको सामाधान भने हुन सकेको छैन ।’
छाडा पशुचौपाया व्यवस्थापनका लागि स्थानिय सरकारले बिभिन्न कार्यक्रम संचालन गरेको भएपनि छाडा पशुचौपायाको समस्या सामाधान हुन सकेको छैन ।
छाडा पशुचौपाया व्यवस्थापनलाई चुनावी मुद्धा नै बनाएका जनप्रतिनिधिहरु पनि अहिले छाडा पशुचौपायाको बिषयमा बोल्न समेत छोडेका छन ।