काठमाडौँ - अनौचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सन् २०२२ मा ४ हजार ३ सय ३९ जना महिला र १ हजार ४ सय ४ जना बालिका गरी कूल ५ हजार ७ सय ४३ जना पीडित भएको जनाएको छ ।
१ सय १३ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा मार्च ८ (फागुन २४ गते) एक प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस्तो तथ्याङ्क प्रस्तुत गरेको हो ।
सन् २०२२ मा बेचबिखन तथा ओसारपसारका घटनामा २४ जना, बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा २४ जना, घरेलु हिंसाका घटनामा ३ हजार ३१ जना, ‘बोक्सी’को आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना, यौन दुर्व्यवहारका घटनामा ४२ जना महिला पीडित भएका अभिलेख राखेको प्रतिवेदनमा जनाइएको छ ।
‘मानव अधिकारमध्ये सबैभन्दा ठूलो अधिकार जीवनको अधिकार हो । तर, विभिन्न बहानामा महिलाहरूको हत्या हुने गरेको छ । यस वर्ष परिवाजनबाट १ सय ११ जना महिलाको हत्या भयो । गत वर्ष यो सङ्ख्या १ सय १२ थियो ।’-प्रतिवेदनमा उल्लेख छ । भनेजति दाइजो नल्याएको आरोपमा १ जना महिलाको हत्या भयो भने सोही कारणले २५ जना महिला हिंसामा परेका अभिलेख भएको पनि इन्सेकले जनाएको छ । वैवाहिक बलात्कारका घटनामा १५ जना महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी बलात्कारका घटनामा १ हजार ९, यौन दुर्व्यवहारका घटनामा ३ सय २६, बेचबिखन तथा ओसारपसारका घटनामा ३९ जना र बाल विवाहका घटनामा ३० जना बालिका पीडित भएका अभिलेख राखिएको इन्सेकले जनाएको छ ।लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तारु भन्ने मूल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्च र आसपासका दिनहरूमा मनाइँदै छ ।
महिलासँग सम्बन्धित कानुनी प्रावधान एवम् राजनीतिक सहभागिताको अवस्थामा उल्लेख्य सुधार हुँदाहुँदै पनि नेपालका महिला विभिन्न खाले संरचनात्मक एवम् लैङ्गिक हिंसाबाट पीडित हुँदै आएका छन् ।महिलाविरुद्ध हुने हिंसाका घटनालाई गम्भीर प्रकारका अपराधको रूपमा स्वीकार गरिएको भए पनि महिला र पुरुषबीच रहेको असमान शक्ति सन्तुलन, महिलाको आर्थिक परनिर्भरता र कानुनको कमजोर कार्यान्वयन अवस्था रहिरहेसम्म यस किसिमका अपराधमा कमी आउँदैन । इन्सेकप्रतिवेदनमा भनिएको छ ।