बाजुरा - पानी नभएकै कारण गाउँमा बुहारी भित्र्याउनसमेत समस्या भोग्दै आएका बूढीगङ्गा नगरपालिका–२, मुस्तोलावासीले ५० वर्षपछि बल्ल गाउँमा खानेपानी पाएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगबाट सोलारले पानी तानेर गाउँमा ल्याएपछि मुस्तोलावासीले बल्ल खानेपानीको सुविधा पाएका हुन् । पुस्तौँदेखि घण्टौँको बाटो हिँडेर कुवाको पानी खान बाध्य भएका मुस्तोलावासीलाई त्यो पानीले केही सहज बनाए पनि अन्य समस्या भने पुरानै रहेको मुस्तोलाका महिला बताउँछन् ।
बूढीगङ्गा नगरपालिका–२, मुस्तोलाका ७० वर्षीया औला रावत भनिन्, “म यो गाउँमा पोइल (बिहा गरेको) आएको झन्डै ५० वर्षपछि बल्ल गाउँमा पानी आइपुग्यो ।” उनले लामो समयपछि गाउँमा पुगेको पानीले केही समस्या हल गरे पनि गाई, भैँसीलाई पानी खुवाउन, लुगाकपडा धुन र नुहाउन भने पुरानै समस्या भोग्नु परेको बताइन् ।
“तन्नेरी अवस्थामा कुवाको पानी ल्याउँदै गरेकी मैले बूढेसकालमा घरमै धाराको पानी भर्न पाउँदा मनमा त खुसी लागेको हो तर धारामा कहिले पानी आउँछ, कहिले आउँदैन । गाउँमा पानी पुग्यो, घरमै नुहाउन र लुगा धुनसमेत सहज हुने भयो भन्ने सोचेकी थिएँ । धारामा बिहान र बेलुकी खानका लागि मात्र पानी आउने गरेपछि कागलाई बेल पाक्यो न हर्ष न बिस्मात भनेझैँ भयो,” रावत भन्छिन् ।
पचास वर्षपछि बल्ल मुस्तोलामा झन्डै एक किलोमिटर तलबाट सोलारले गाउँमा पानी तानेको छ । गाउँभन्दा माथि कतै नजिक मुहान नभएपछि सोलारले तलबाट पानी तानेर गाउँमा ल्याइएको हो तर स्थानीय राजुदेवी रावत भन्छिन् ।, “गाउँमा पानी आएपछि खान, नुहाउन, लुगाकपडा धुन र तरकारी खेती गर्नसमेत सहज हुने आशा गरेका थियौँ तर त्यस्तो भएन । धारामा कहिले पानी आउँछ कहिले आउँदैन । फेरि घण्टौँ हिँडेर कुवाको पानी ल्याउनुपर्छ ।”
बूढीगङ्गा नगरपालिका–२ का सामाजिक अगुवा हर्क रावतले प्रदेश सरकारको बजेटबाट सोलार ९सौर्य ऊर्जा०को माध्यमले बल्ल गाउँमा पानी पुगेको बताए । उनका अनुसार सोलार चार्ज नभएपछि भने मोटरले पानी नतान्ने हुँदा ट्याङ्कीमा पानी जम्मा हुँदैन त्यसपछि धारा सबै बन्द हुन्छन् । पानी, हिउँ पर्दा त के आकाशमा बादल लागे पनि गाउँमा खानेपानीका सबै धारा बन्द हुने गरेको रावतले बताए । गाउँमा एक घर एक धारा निर्माण भएका छन् । सबै घरलाई पानी पुग्ने गरी खानेपानीको ट्याङ्कीसमेत निर्माण गरिएको छ ।
बूढीगङ्गाका अन्य धेरै गाउँमा राष्ट्रिय विद्युत् लाइन जोडेर गाउँ झलमल भएका छन् तर हाम्रो गाउँमा अहिले अन्धकार छ । गाउँमा राष्ट्रिय लाइन जोडेर विद्युत्बाट मोटर चल्न पाएपछि मुस्तोलावासीको खानेपानीको समस्या हट्ने रावतले बताए ।
मुस्तोलाका ३८ घरपरिवारको खानेपानीको समस्या समाधान हुने गरी प्रदेश सरकारले मुस्तोला खानेपानी निर्माण कार्यका लागि झन्डै एक करोड रुपियाँ विनियोजन गरेको मुस्तोला खानेपानी निर्माण योजनाको अध्यक्ष खडक रावतले बताए । प्रदेश सरकारको एक करोड आर्थिक सहयोगमा २०७५ साल मङ्सिरदेखि काम सुरु गरेको मुस्तोला खानेपानी निर्माणको काम २०७९ साल मङ्सिरमा सम्पन्न भएको निर्माण समितिका अध्यक्ष रावतले बताए ।
आकाशे खेती
बूढीगङ्गा नगरपालिका–२, मुस्तोलाका स्थानीय सधैँ आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । आलु खेती मुस्तोलावासीको मुख्य पेसा हो । आलु खेती गरेर मुस्तोलावासीले सधैँ जीविकोपार्जन गर्ने गरेका छन् । सिँचाइ त के खानेपानीकै समस्याबाट मुक्त हुन नसकेका मुस्तोलावासीलाई पुस्तौँदेखि आकाशे पानीकै भरमा आलु खेती गर्नुपर्ने मुख्य समस्या छ । फागुनमा आलु लगाउने र साउन, भदौमा आलु निकाल्दै आफ्नो जीविकोपार्जन गर्ने गरेको मुस्तोलावासी बताउँछन् ।
बूढीगङ्गा नगरपालिका–२, मुस्तोलाका मनोज रावतका अनुसार सिँचाइ नहुँदा खेती गरेअनुसार आलु उत्पादन भएको छैन । हिउँदमा सबै जमिन बाँझै रहन्छ, फागुन लागेपछि वर्षाको भरमा मात्र त्यो जमिनमा आलु खेती लगाउने गरिन्छ ।
मुस्तोला आलु खेतीका लागि प्रख्यात ठाउँ भए पनि सिँचाइ नहुँदा त्यो जमिन प्रयोगमा ल्याउन समस्या भएको बूढीगङ्गा नगरपालिका कृषि विकास शाखा प्रमुख दीपक थापाले बताए ।