काठमाडौं - यही फागुन २५ गते हुने राष्ट्रपति र आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि आजदेखि निर्वाचन आचारसहिंता लागु भएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले आचारसंहिता लागु गरेको हो।
निर्वाचन आयोगका अनुसार बुधबारदेखि चैत ५ गतेसम्म आचारसंहिता कायम रहनेछ।
निर्वाचनका लागि संघीय संसदमा हाल कायम रहेको ३३२ र प्रदेशसभाका ५५० गरी कुल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने आयोगले जनाएको छ ।
आयोगका अनुसार ११ व्यक्ति, संघसंस्था र निकायलाई आचारसंहिता लागु हुनेछ। नेपाल सरकार, प्रदेश सरकार, कर्मचारी, सुरक्षाकर्मी, सञ्चार प्रतिष्ठान, राजनीतिक दल, राजनीतिक दलका भ्रातृ संघसंस्थाले आचारसंहिता पालना गर्नुपर्ने हुन्छ।
सरकारले पनि कुनै पनि उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार गर्न पाउने छैन। यस्तै कुनै पनि आयोजनाको शिलान्यास तथा उद्घाटन वा सर्भेलगायत गर्न रोक लगाइएको छ।
यही फागुन १३ गते राष्ट्रपति निर्वाचनका लागि भएको मनोनयनमा नेपाली कांग्रेससहित ८ दलको समर्थनमा रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए।
आयोगले आचारसंहिताको पालना गरी निवार्चनको स्वच्छता र विश्वसनीयता कायम गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।