बैतडी - जिल्लामा शनिबार राति मृत फेला परेका दशरथचन्द नगरपालिका १० खडेनीका २५ बर्षीय जीवन बुडालको शव अझै परिवारले बुझेका छैनन् । पिकनिक मनाउन अन्य ११ जना साथीहरुसंगै दशरथचन्द नगरपालिका ६ सेरा गएका बुडाल शनिबार राति मृत अवस्थामा फेला परेका थिए ।
मृतक बुडालको शव पोष्टमार्टम गरिएपनि अस्पतालमै राखिएको छ । बुडालको हत्या गरिएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् । उनका आफन्तले किटानी जाहेरी दिएपछि १२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
पिकनिक खान गएका ११ जना र गाडी चालकसहित १२ जनामाथि अनुसन्धानका लागि किटानी जाहेरी दिएको मृतकका दाजु गोविन्द बुडालले बताए । जीवनसँगै वनभोज खान गएका नारायणसिंह ऐरी, गजेन्द्रसिंह रावल, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री,श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नविनसिंह ठगुन्ना, केशवसिंह रावल ,दिपेन्द्रसिंह ऐरी, भीमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि ज्यानसम्बन्धी कसुरको जाहेरी दर्ता भएको छ।
राष्ट्रिय अनुसन्धान बझाङमा कार्यरत रहेका मृतक जीवन बुडाल विदामा घर आएका बेला शनिबार आफ्नो घर दशरथचन्द नगरपालिका–१० खडेनीबाट पिकनिक मनाउने भन्दै ११ जना साथीसँग म १ ज २२२ नम्बरको जिपमा चौलानी किनार गएका थिए।