सुर्खेत - नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताए ।
एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि सोमबार (हिजो) सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए । मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो ।
“नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ”, उनले भने, “यसमा माओवादी केन्द्र त छँदैछ ।” जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।
आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए । उक्त सन्दर्भमा वि.सं २०७५ गठन भएको नेकपा ब्युताउनुपर्ने कुरा आफूले राख्दै आएको उनले स्पष्ट पारे।
स्थानीय, प्रदेश तथा सङ्घीय निर्वाचन हुनुभन्दा केही समय अगाडि मात्र पार्टीको निर्माण भएकाले अपेक्षाअनुसार परिणाम नआएको उल्लेख गदै उनले एक महिने पार्टी सुदृढीकरणले पार्टीको सङ्गठन सुधार र मजबुत बनाउने अभियानमा आफु अहिले जुटेको उनको भनाइ थियो ।
उनले हालै बनेको नयाँ आठ दलीय गठबन्धन नै आउँदो ५ वर्षसम्म ढुक्कले चल्ने दाबी समेत गरे ।