धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन १७ गते विश्वासको मत लिने गरि तयारी थालेका छन् ।
मुख्यमन्त्री शाह यही फागुन १७ गते प्रदेश सभामा विश्वासको मत लिने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि मुख्यमन्त्री शाहले दलका शीर्ष नेतृत्व देखी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादी तथा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफल गरेका छन् ।
यसैगरी मुख्यमन्त्री शाहले आइतबार साझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए । विश्वासको मत लिनका लागि सभामुख देखि सरोकारवाला निकायसँग मुख्यमन्त्री शाहले आवश्यक परामर्श गरेका छन्, फागुन १७ गते विश्वासको लिने तयारीमा उनी छन्, समय निर्धारण प्रदेश सचिवालय गर्छ होला, मुख्यमन्त्रीका राजनीति सहयोगी रामबहादुर विष्टले भने ।
संविधानको धारा १६८(३) बमोजिम माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका उनले फागुन २६ गते भित्र विश्वासको मत लिई सक्नु पर्ने हुन्छ । नेपाली काँग्रेस र नेकपा एसका गरि २३ जना प्रदेश सभा सदस्यको समर्थन प्राप्त मुख्यमन्त्री शाहलाई विश्वासको मत पाउन कम्तीमा २७ जना आवश्यक पर्छ । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा काँग्रेस १९, एमाले १०, माओवादी केन्द्र (सभामुख सहित) ११, नागरिक उन्मुक्ति ७, एकीकृत समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य रहेका छन् ।
भेटवार्ता र छलफलमा केन्द्रित रहेका मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत पाउनेमा आफू ढुक्क रहेको र फेरिएको केन्द्रिय राजनीति समीकरणले विश्वासको मत पाउन थप सहज भएको बताए । मुख्यमन्त्री शाहलाई माओवादी केन्द्र र नागरिक उन्मुक्तिले विश्वासको मत दिएमा एस तथा काँग्रेस सहित गरि ४० जनाको समर्थन प्राप्त हुनेछ ।
यसअघि मुख्यमन्त्रीमा नियुक्त नेकपा एमालेका राजेन्द्रसिंह रावलले प्रदेश सभामा विश्वासको मत पाउन असफल भएपछि एक महिना भित्रै पदबाट राजीनामा दिएका थिए । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति, राप्रपाका गरि २९ जनाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावललाई नागरिक उन्मुक्तिले विश्वासको मत दिएको थिएन ।