डडेल्धुरा – साधुको हत्यामा संलग्नको आरोपमा तिन जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । शनिबार अन्दाजी १४ र १६ बर्षीय २ जना स्थानीय किशोरहरुलाई नियन्त्रण्मा लिईएको डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए । यस्तै सोही घट्नामा संलग्न १४ बर्षीय अर्का स्थानीय किशोरलाई पनि नियन्त्रणमा लिएको उनले बताएका छन ।
उनी घटना पश्चात डडेल्धुरा र बैतडीको सिमानामा लुकीछिपि बसेको सूचनाको आधारमा आईतबार पक्राउ परेका हुन । बालबालिका ऐन २०७५ को दफा ११ बमोजिम उनीहरुको परिचय भने खुलाइएको छैन । पक्राउ परेका तीनैजना विरुद्ध कानुनी पक्रिया अगाडी बढाइएको डडेल्धुरा प्रहरीले जनाएको छ ।
आरोपितहरुले गत मंगलबार घट्नास्थल नजिकै कोटेलीमा रहेको पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्दै मृतकको कुटीमा गएका थिए । फर्कने क्रममा नजिकै सडकमा मृतक उमाशंकर गिरीसँग भेट भएको र विवाद भएको जनाइएको छ । पक्राउपरेका १६ वर्षका किशोरले ढुँगा प्रहार गरेको थिए ।
त्यस पछि गिरी भागेर आफ्नो कुटीमा प्रवेश गरी लुकेका तर मदिराको मातमा रहेका आरोपितहरुले लखेट्दै गई पुनःह ढुँगा प्रहार गरी सो स्थानबाट भागेर आ–आफ्नो घर गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डडेल्धुरा प्रहरीले जनाएको छ ।
घटनास्थलको शुक्ष्म अवलोकन, घटनास्थल वरीपरी भेटिएका सबुत प्रमाणहरुको अध्ययन विश्लेषण, घटनास्थल वरीपरी रहेका स्थानीय तथा प्रत्यक्षदर्शीहरुले खुलाई दिएका विवरणहरु, शंकास्पद व्यक्तिहरु माथिको शुक्ष्म निग्रानी, पक्राउ परेका व्यक्तिहरुको प्रारम्भिक बयान र अन्य प्राविधिक विश्लेषण लगाएतका आधारमा उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरिक्षक न्यौपानेले बताए । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।
करिब ४० वर्ष अघिदेखि कुटीमा बस्दै आएका अन्दाजी ७५ वर्षीय उमाशंकर गिरी नामले चिनिने साधुको बुधबार बेलुका शव फेला परेको थियो । उनी अमरगढी नगरपालिका–६ भजनेउटामा रहेको कुटीमा बस्दै आएका थिए ।
उनी बस्दै आएको कुटीमा नै उनको शव फेला परेको हो । शव भेटिएको स्थानका ढुंगामा समेत रगत भेटिएपछि उनको मृत्यु शंकास्पद बनेको थियो । करिब ४० वर्षअघि दैलेखबाट आएका ति साधु त्यसयता सोही कुटीमा बस्दै आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।