कंचनपुर- कृष्णपुर नगरपालिकाको आयोजना र केजि अस्पताल धनगढीको प्राविधिक सहयोगमा कृष्णपुर नगरपालिका वडा न ८ मा रहेको रैकवार स्वास्थ्य चौकिमा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।
सनिवार रैकवार स्वास्थ्य चौकिमा एक औपचारिक कार्यक्रममा बिच नगरप्रमुख हेमराज ओझाले उक्त निशुल्क स्वास्थ्य शिविरको शुभारम्भ गरे। नगरपालिकाका वडा न ७,८ र ९ का नागरिकहरुलाई लक्षित गरि उक्त स्वास्थ्य शिविर संचालन गरिएको हो ।
उक्त निशुल्क स्वास्थ्य शिविरमा जनरल मेडिसिन फिजिसियनद्वारा चेकजाँच, हाड जोर्नी तथा नसा रोग सम्बन्धि चेकजाँच,स्त्री तथा प्रसुती रोग सम्बन्धि चेकजाँच,सर्जरी सम्बन्धि सेवा,दन्तरोग सम्बन्धि चेकजाँच र निशुल्क हाइड्रोसिलको शल्यक्रिया सेवा उपलब्ध थिए ।
नागरिकसँग मेयर कार्यक्रमको दोश्रो चरण अन्तर्गत विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख हेमराज ओझाले बताए । उनले विकास निर्माणका कामहरु निरन्तर भैरहने र केही ढिला भए पनि त्यति फरक नपर्ने तर मानवको स्वास्थ्य संवेदनशील विषय भएकोले आफुले कृष्णपुरका जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको बताए ।
केजि अस्पताल धनगढीका डाइरेक्टर डा.दिपक सिंहले शिविरमा सेवा लिन आएका सेवाग्राहीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेका हुन । उक्त स्वास्थ्य शिविरमा ४१६ जनाले निशुल्क स्वास्थ्य परिक्षण गराएको वडा न ८ का अध्यक्ष दिनेश खड्काले बताए ।
कृष्णपुर नगरपालिकाले माघ ३ देखि २० गतेसम्म नागरिकसँग मेयर (स्वास्थ्य सम्बन्धि ) कार्यक्रम आयोजना गरेको थियो,त्यसैगरी धनगढी नेत्रालयसँग सहकार्य गर्दै १० दिने आँखा शिविरको पनि आयोजना गरिएको थियो ।