धनगढी - राष्ट्रपति निर्वाचनका लागि राजनीतिक दलहरूबीच सङ्घमा बनेको नयाँ समीकरणले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई राहत भएको छ। पदमा रहिरहनका लागि उनले बहुमत प्राप्त गर्न सक्ने आधार सुनिश्चित भएपछि मुख्यमन्त्री शाहलाई राहत भएको हो।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टीलगायतका दलबीच राष्ट्रपति निर्वाचनका लागि समीकरण बनेको छ। दलहरूबीच सङ्घमा भएको सहमतिले कसैको पनि बहुमत नरहेको सुदूरपश्चिम प्रदेशमा सरकार चलाउन ठूलो सहयोग हुने देखिएको छ।
तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम ठूलो दलको संसदीय दलका नेताको हैसियतले शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए। कांग्रेसको नेतृत्वमा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टी सम्मिलित सरकार छ। माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका उनले एक महिनाभित्रै विश्वासको मत लिनुपर्नेछ।
सत्तारूढ दल कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न सजिलो भएको बताए। उनले भने, “केन्द्रमा भएको सहमतिले अब विश्वासको मत प्राप्त गर्न सजिलो भएको छ।” सम्भवतः अब नागरिक उन्मुक्ति पार्टीले पनि यो सरकारलाई विश्वासको मत दिने बमको विश्वास छ।
सुदूरपश्चिम प्रदेश सभामा दोस्रो ठूलो दल माओवादी केन्द्रले पनि कांग्रेस नेतृत्वको सरकारलाई विश्वासको मत दिने वातावरण बन्दै गएको बताएको छ। सो पार्टीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य झपटबहादुर साउदले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताए।
कांग्रेसले प्रतिपक्षी दल भएर पनि यसपालि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको थियो। “त्यस्तै दुईवटा प्रदेशमा कांग्रेसले हाम्रो पार्टीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको छ,” साउदले भने , “कांग्रेसले सहयोग गरेका कारणले पनि हामीले कांग्रेसलाई विश्वासको मत दिनुपर्छ।”
सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिएमा प्रदेश सरकारमा सहभागी पनि हुने माओवादी नेताहरूको भनाइ छ। “विश्वासको मत दिइसकेपछि हाम्रो पार्टी सरकारमा पनि जान्छ,” नेकपा (माओवादी केन्द्र)का अर्का प्रदेश सभा सदस्य ओमविक्रम भाट (सरल)ले बताए । यद्यपि, विश्वासको मत दिने र प्रदेश सरकारमा सहभागी हुने टुङ्गो संसदीय दलको बैठकले लगाउने नेताहरूको भनाइ छ। ‘हाम्रो दलको बैठक छिट्टै बस्छ,” प्रदेश सभा सदस्य साउदले भने , “सबै कुराको टुङ्गो त्यही बैठकबाट लाग्नेछ।”
सुदूरपश्चिमका मुख्यमन्त्री शाह मुख्यमन्त्रीमा नियुक्त भएको आधाभन्दा बढी महिना बितिसकेको छ। बहुमत नपुगेका कारण उनले विश्वासको मत पाउनका लागि दौडधुप बढाएका थिए ।
त्यस्तै प्रदेश सभाबाट विश्वासको मत लिने तिथिमिति पनि तय गर्न सकेका थिएनन्। उनले विश्वासको मत प्राप्त गर्ने वातावरण बनेकाले अब छिट्टै नै विश्वासको मत लिनुहुनेछ। सम्भवतः १८ गते नै मुख्यमन्त्रीले विश्वासको मत लिने प्रदेश सभा सदस्य बमले बताए ।
“फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हो,” उनले भने, “त्योभन्दा पहिले विश्वासको मत लिएर हामी राष्ट्रपतिको निर्वाचनमा भाग लिन्छौँ।” ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत पु(याउनका लागि २७ जनाको समर्थन आवश्यक पर्दछ।