धनगढी -धनगढी उपमहानगर क्षेत्रमा पहिलो चरणको स्मार्ट सडक बत्तीले झिलिमिली बनेपछि गोदावरी नगरपालिका माथि दबाब बढेको छ । ६ लेन सडकको धनगढी उपमहानगर क्षेत्रमा मात्रै बत्तीले झिलिमिली भएपछि झण्डै ४ किलोमिटर गोदावरीमा पर्ने क्षेत्र भने रातीको समयमा अन्धकार नै रहेको छ ।
गोदावरी नगर क्षेत्रमा पनि स्मार्ट सडक बत्ती बालिनु पर्ने स्थानियले सामाजिक सन्जाल मार्फत आवाज उठाएका छन् । अत्तरिया क्षेत्रका अधिकांस फेसबुक प्रयोगकर्ताले धनगढीका मेयरको उक्त कार्यको प्रसंशा गर्दै गोदावरीका जनप्रतिनिधीले पनि यसमा ध्यान दिनुपर्ने बताएका छन् ।
६ लेन सडक क्षेत्रमा रातिको समयमा हुने दुर्घटना न्यूनीकरण गर्न हरेक २८ मिटरको दुरीमा स्मार्ट सडक बत्ती जडान गरिएको हो। पहिलो चरणमा २१६ पोलमा ४३२ वटा लाइट जडान गरिएको छ।
स्मार्ट सडक बत्तीमा रात पर्दै गएपछि आफैँ बल्दै जाने र उज्यालो भएपछि आफैँ निभ्ने ‘सेन्सर’ जडान गरिएको नेपाल विद्युत प्राधिकरणले बताएको छ। दोस्रो चरणमा धनगढी उपमहानगरपालिकाले १० वटा हाइमास्ट लाइट जडान गर्नेछ भने तेस्रो चरणमा उपमहानगरकै लगानीमा भन्सारदेखि धनगढी चौराह हुँदै मोहनपुरको बाँकी क्षेत्रमा बत्ती जडान हुने छ।
यता गोदावरी नगरपालिकाले पनि आफ्नो क्षेत्रमा स्मार्ट सडक बत्तीको पहल शुरु गरेको बताएको छ । नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले स्मार्ट सडक बत्ती बाल्नको लागी विद्युत प्राधिकरण सँग छलफल आजै हुने बताए ।
उनले भने -'आज दुई पक्ष मिटिङ गर्ने योजना छ । यँहा पनि छिट्टै स्मार्ट सडक बत्ती बालिने छन्।' गोदावरी ले पनि धनगढी कै मोडेलमा ६० /४० को लगानीमा हुने छ ।
गोदावरी नगरपालिकाका प्रसाशकिय अधिकृत बसन्त कुमार खत्रीले स्मार्ट सडक बत्ती जडानको लागी छलफल शुरु भएको तर बजेटको अभाबले काम अली ढिलो हुन सक्ने बताए।