काठमाडौं - सरकारले आज (बिहीबार) देखि फागुन २५ गतेसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन अभियान सञ्चालन गर्दै छ ।
आज अर्थात ११ फागुन देखी २५ फागुनसम्म प्रभावित १५ जिल्लामा स्वास्थ्यकर्मीहरूले जिल्लामा वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, सहकारी धार्मिकस्थल आदिमा बुथ राखेर औषधि खुवाइने जनाएको छ।
सरकारले कैलालीसहित झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु बाँके र दाङमा हात्तीपाइलेविरुद्ध औषधि सेवन अभियान सञ्चालन गर्न लागेको हो ।
२ वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खान मिल्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । उमेर नपुगेका, गर्भवती, ७ दिनसम्मका सुत्केरी तथा सिकिस्त भई ओछ्यान परेका बिरामीले औषधि सेवन गर्न हुँदैन । औषधि सेवनले शरीरमा रहेको हात्तीपाइलेको परजीवी मार्ने भएकाले यो रोगका कारण शारीरिक अपांगताबाट बच्न सकिने सरकारले जनाएको छ ।
नेपालले सन् २०२६ सम्ममा हात्तीपाइलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने र २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएको छ। अहिले यो दर चार प्रतिशतमा झरेको छ।