काठमाडौं - राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्नेछ ।
आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।
फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको हो।
नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन दुई दिनको समय दिइनेछ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ।
आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । मतदानका लागि आउँदो १३ गते शनिबार मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ ।
राष्ट्रपति निर्वाचन फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने आयोगले जनाएको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेश सभाका सदस्य मतदाता हुनेछन्।
संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ तथा प्रदेश सभामा ५ सय ५० मतदाता छन् । आयोगले २०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव हुने तालिका छ ।
राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न तीन दिनमात्रै बाँकी रहँदा शीर्ष नेताहरुको दौडधुप भने बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ ।